निर्माता तथा कलाकार दिपकराज गिरीले सामाजिक संजालमा कुनै कुरा पोष्ट गर्यो कि त्यसमा आधा बढी कमेन्टमा एउटै कुरा सोधिएको हुन्छ – युटुबमा ‘छक्का पन्जा २’ कहिले आउँछ ?
अहिले युटुब विदेशमा बस्ने नेपालीहरुका लागि नेपाली चलचित्र हेर्ने सबै भन्दा सजिलो माध्यम बनेको छ । त्यसैले पनि पछील्लो समय हिट भएका चलचित्रको डिमाण्ड युटुबमा सर्वाधिक हुने गरेको छ ।
हलमा नचलेका नेपाली चलचित्रले पनि युटुबमा लाखौ भ्यूज पाइरहेका छन् । त्यसको फाईदा निर्माता र कलाकारलाई त पर्ने नै भयो । तर, अर्को तर्फ युटुबमा चलचित्र आउन थालेपछि चलचित्र हेर्न हलमा दर्शक घटेको कुरा पनि निर्माताले राम्रैसँग वुझेकै होलान् ।
युटुबमा हालेपछी जस्तोसुकै चलचित्रले पनि लाखौ भ्यूज पाउने मात्र होइन ट्रेन्डिङको पहिलो स्थानमा रहने गरेको छ । तर, हलमा भने दर्शक नआउने नेपाली चलचित्रको बिडम्बना नै बनेको छ अहिले ।
गतबर्ष सर्वाधिक हिट बनेको चलचित्र ‘छक्का पन्जा २’ अहिलेसम्म युटुबमा सार्वजनिक गरिएको छैन । दर्शकले भने यो चलचित्र युटुबमा कहिले आउँछ ? भनेर प्रश्न गर्न थालेको लामो समय भैसकेको छ ।
तर, निर्माणपक्षले भने अझै यो चलचित्रलाई युटुबबाट सार्वजनिक गर्ने तयारी गरेको छैन । आखिर, ‘छक्का पन्जा २’ कहिले आउँछ त युटुबमा ? दिपकराज गिरी भन्छन्- ‘हाम्रो चलचित्र प्रदर्शन भएको २ बर्षपछि मात्र युटुबमा आउँछ । अब, हामी चलचित्रलाई डिजिटल रिलिजका लागि नयाँ उपाय सोचिरहेका छौ । युटुबमा चलचित्र ३-३ महिनामा सार्वजनिक हुँदा हलमा दर्शकको चाप घट्न थालेको छ ।’
दिपकका अनुसार- चलचित्र ‘छक्का पन्जा २’ युटुबमा आउन अझै समय लाग्नेछ । तर, ‘छक्का पन्जा ३’ भने युटुबबाट सार्व्जनिक नगर्ने तयारी उनको छ ।