कम्युनिस्ट सरकारले स्पष्टीकरण सोधेपछि नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छिन् । सञ्चारकर्मी रवि लामिछानेकी पत्नी समेत रहेकी पौडेलले माघ २३ गतेबाट लागू हुनेगरी सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा समक्ष राजीनामा पेश गरेकी हुन् ।

पौडेलले आफ्नो राजीनामाका बारेमा फेसबुक मार्फत जानकारी गराएकी हुन् । उनले मंगलबार फेसबुकमा राजीनाको पत्र राखेकी छिन् । ‘व्यक्तिगत जीवनमा व्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपारेस् भनी मैले यो निर्णय लिएकी हुँ’- उनले फेसबुकमा लेखेकी छन् । पौडेल २०७४ मंसिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् ।
गत आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा बोर्ड अध्यक्ष पौडेल अनुपस्थित भएपछि मन्त्री बास्कोटाले कारबाही गर्ने चेतावनी दिएका थिए । सोही कारणले कारबाहीमा पर्नुभन्दा अगाडि राजीनामा दिएकी छिन् ।
उनले नेपाल सरकारबाट मैले प्राप्त गरेको पछिल्लो ३ महिनाको आफ्नो सम्पूर्ण तलब बापतको रकम मेरा श्रीमान रबि लामिछानेको संयोजकत्वमा निर्माण हुँदै गरेको रास्कोट सामुदायिक अस्पताललाई दिने बताएकी छिन् ।
‘योसँगै अबको मेरो अधिकतम समय दुर्गम कालिकोटमा निर्माण हुने रास्कोट सामुदायिक अस्पतालका लागि समर्पित गर्ने कुराको पनि जानकारी गराउँदछु’- उनले भनेकी छिन्, ‘चलचित्र बिकास बोर्डको अध्यक्षको जिम्मेवारीबाट अलग भएपनि, मेरो नाभीसँगै गासिएको गौरवशाली चलचित्र क्षेत्रको हितका लागि म सदैव क्रियाशील रहिरहनेछु ।’

