फ्राइडे रिलिज अन्तर्गत यस् हप्ताको लागि चलचित्र ”द ब्रेकअप” र ”क्याप्टेन” आज देखि प्रदर्शनमा आएका छन् ।
दुवै चलचित्र ठूला ब्यानरका मानिन्छन् । दुवै चलचित्रलाई अपेक्षित चलचित्रका रुपमा हेरिएको छ । तर, दुवै चलचित्र एउटै मितिमा प्रदर्शनमा आउनु गलत भएको धेरै चलचित्र पण्डितहरुको बुझाइ छ ।

सुपर काजल फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘क्याप्टेन’लाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता जिया केसी हुन् । चलचित्रमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।
चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलावा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सूर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डीओपी, दीर्घराज खड्काको सम्पादनमा रहेको छ ।
त्यस्तै, आज देखी नै प्रदर्शनमा आएको अर्को चलचित्र हो ”द ब्रेकअप” । यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् । चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।
बीसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा कथा तथा पटकथा निर्देशक बिसीकै रहेको छ । चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेमराज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा नरेन मैनालीको डीओपी र सुरेन पौडेलको सम्पादन रहेको छ ।
ठूला ब्यानरका यि दुई चलचित्र मध्य अब कसले बाजी मार्ला त त्यो भने हेर्नै बाँकी छ ।

