
चीनले अमेरिकाको भन्सार कर वृद्धि विरूद्धको कदम चाले लगत्तै अमेरिकाले पनि पुनः भन्सार कर थप्ने अर्को घोषणा गरेको छ । शुक्रबार चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा नयाँ कर वृद्धि गर्दै गत मे १० र अगष्ट १५ को अमेरिकी घोषणाको बदला लिने निर्णय गरेको थियो ।
चीनको घोषणा लगत्तै अमेरिकाले पनि शनिबार लगभग ५ खर्ब ५० अर्ब अमेरिकी डलरका चिनियाँ सामानका लागि भन्सार कर थप्ने घोषणा गरेपछि चीन झन् चिढिएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयले परिस्थितिको गलत फैसला नगर्न र चिनियाँ जनताको अठोटलाई हल्का रूपमा नलिन चेतावनी दिएको छ। आफ्ना गलत गतिविधि तुरून्तै रोक्न ताकिता गर्दै चीनले अमेरिकाको एकपक्षीय बदमासीले व्यापारिक संरक्षणवादलाई प्रोत्साहन गर्नुका साथै चीन र अमेरिकाका शीर्ष नेतृत्वबीचको सहमति उल्लंघन गर्दै आपसी सम्मान, समानता तथा हितको सिद्धान्त पनि तोडेको टिप्पणी गरेको छ ।
”अमेरिकाको प्रतिशोधको भावनाले बहुपक्षीय व्यापारिक प्रणाली र सामान्य अन्तर्राष्ट्रिय व्यापार व्यवस्थामा समेत गम्भीर असर पार्ने भएकाले उप्रान्त उत्पन्न हुने कुनै पनि नकारात्मक नतिजाको जिम्मेवारी अमेरिकाले वहन गर्नुपर्छ”- चीनले भनेको छ ।
गत वर्षको डिसेम्बर १४ मा चीन र अमेरिकी शीर्ष नेताबीच अर्जेन्टिनामा भएको भेटवार्तामा जनवरीदेखि तीन महिनासम्म वृद्धि भन्सार कर नअसुल्ने र वार्ता गर्ने सहमति भएको थियो। तर वार्ता परिणामुखी नभएसँगै अमेरिकाले मे १० मा २ खर्ब डलरको चिनियाँ सामानमा २५ प्रतिशतसम्म र अगष्ट १५ मा फेरि ३ खर्ब डलरका चिनियाँ सामानमा १० प्रतिशत भन्सार कर थप्ने घोषणा गरेको थियो । चीनले पनि अमेरिकाको घोषणाको प्रतिकार गर्न उसैगरी सेप्टेम्बर १ र डिसेम्बर १५ देखि लागू हुने गरी शुक्रबार मात्रै नयाँ कर वृद्धि योजना प्रस्तुत गरेको थियो ।
यसैबीच अमेरिकासँग डिजिटल करको संघर्षबाट व्यापारिक तनाव झेलिरहेको फ्रान्सले पनि व्यापारिक युद्ध परित्याग गर्न अपील गरेको छ। क्यानडा, जर्मनी, अमेरिका, बेलायत, इटाली, जापान र फ्रान्स सम्मिलित सात आर्थिक समूह जी-७ को बैठकमा राष्ट्रपति इम्यानुअल म्याक्रोनले ती देशका नेतागणमाझ भने- ”तनावपूर्ण व्यापारिक परिस्थिति विश्वका लागि फाइदाजनक छैन।” आपसी प्रयासमा व्यापारिक संघर्ष अन्त्य गर्दै विश्व अर्थतन्त्रको पुनरूत्थानमा लाग्नुपर्ने उनको सुझाव थियो ।

