
मुलघरे कान्छा
नेपालको किरात जन्य संघ संस्थाको साथीहरुले किरात अन्तराष्ट्रीय सम्मेलन युके र बेलायतमा गर्ने निर्णय गरेका रहेछन । यस्तो सम्मेलनहरु नेपालमा या किराती बस्ती र किरात ऐतिहासिक स्थलमा गर्नु उचीत हुन्छ । यो युकेमा संसार भरको किरातीहरु भेला हुने भनेर युकेमा अन्तराष्ट्रीय सम्मेलन गर्नुको औचित्य अर्थ चाहि के हो ?
युकेमा किरात राईहरु भेला भएर सभा सम्मेलन गर्दा त्यस्को उपलब्धी चाहि के हो ? हामी किराती समाज किन यती लाखौ करोडौ खर्च गरेर उपलब्धी विहिनर औचित्यहिन सभा सम्मेलन गर्नु तिर मात्र लागीरहेका छौ ? हाम्रो किराती समाजमा मुख्य गर्नु पर्ने कामहरु गौण छन । किरातीहरुको भाषा, धर्म, संस्कार, संस्कृति, लिपि, मुन्दुम, कला, साहित्य, ऐतिहासिक स्थल, सम्पदाहरु जोगाउनका निमित्त त्यहि पैसा किन खर्च गर्दैनौ हामी ? औचित्यहिन सभा सम्मेलन गर्नको लागी लाखौकरोडौ खर्च गरीरहेका छौ ? अहिलेको किराती समाजको मुख्य चुनौति भनेको संस्कृति र मुन्दुम जोगाउनु हो । हामी किराती समाजले मौलिक संस्कृति र मुन्दुम संरक्षण गर्नको निमित्त किन लाखौकरोडौ खर्च गर्दैनौं ? अहिले किरातकालिन ऐतिहासिक स्थल, गढि, दरबारहरु लोपन्मुख जिर्ण अवस्थामा छन् ।
अहिले ललितपुर स्थित किराती २८ औ पटुक राजाको दरबार एकजना भण्डारी बाहुनको नाममा रहेछ । त्यो पटुक राजाको दरबार संरक्षण गर्न देशविदेशमा भएका किरातीहरुले आर्थिक संकलन गरेर खरीद गरेर ऐतिहासिक सम्पदा जोगाउन किन प्रयास गर्दैनौं ? सभासम्मेलन गर्नको निमित्त लाखौकरोडौ खर्च गर्ने पैसाले किराती ऐतिहासिक पटुक राजाको दरबार किन किरातीहरुले खरीद गर्दैनांै ? दोलखाको किरातकालिन सांस्कृतिक ऐतिहासिक (किरातीछाप) सिर्फ साइनबोर्डमा मात्र सिमित छन । त्यो साईनबोर्ड कसैले भत्काईदियो भने किरातीछाप को अस्तित्व समाप्त हुन्छ । किराती छापमा हामीले कुनै किरातकालिन ऐतिहासिक सम्पदाको रुपमा कुनै नयाँ संरचना बनाएर किन संरक्षण गर्दैनौ ? तर यसरी सभा सम्मेलनमा लाखौ करोडौ खर्च गरीरहेका छौ ? दोलखा र रामेछापको गाँऊमा किरातकालिन ऐतिहासिक सहर बस्तीहरु नै जीर्ण अवस्थामा रहेछन, हामीले ती किरातकालिन ऐतिहासिक किराती सहर वस्तीहरु किन संरक्षण गर्दैनौं ? तर यस्ता सभा सम्मेलनमा लाखौ करोडौ खर्च गरीरहेका हुन्छौं ।
भोजपुर हतुवाको हतुवागढि, विजयपुरगढि, सांगुरीगढि, चौदण्डीगढि लगायतका यस्ता किरातकालिन ऐतिहासिक गढि दरबारहरु संरक्षण गर्नको लागी किन लाखौ करोडौ खर्च गर्दैनौ ? तर यस्ता उपलब्धि बिनाको सभा सम्मेलन गरेर लाखौ करोडौ खर्च गरीरहेका छौ ?अहिले किरातीहरुको मुन्दुम र संस्कृति बारे खोज अनुसन्धान गरेर जीवन बिताईरहेका किराती समाजको केहि महान किरातीहरु मुन्दुम र संस्कृति बारे महत्वपूर्ण पुस्तकहरु लेख्ने लेखकहरु एउटा पुस्तक प्रकाशन गर्नको लागी प्रकाशक खोजीरहेका हुन्छन् । विदेशमा बस्ने हामी जस्ता केहि संस्कृति प्रती चासो राख्ने किरातीहरुसँग सहयोगको अपेक्षा गरीरहनु भएको हुन्छन् । यी किरात लेखकहरु समग्र किराती समुदायको हितको निमित्त आफनो बल बुद्धि विवेक खर्च गरेर यसैमा जीवन बिताएर मुन्दुम र संस्कृतिको निमित्त पुस्तक प्रकाशन गरिरहेका हुन्छन् । किरातजन्य संघ संस्थाको वा किराती समाजको कुनै किसिमको साथ सहयोग छैन अरुसँगको सहयोगको अनुरोधको भरमा साथ सहयोग गर्नुहोस भनेर हारगुहार माग्नु पर्ने किराती अध्येता लेखकहरुको अवस्थामा छन् । यो भन्दा दुःखद कुरा अरु के हुन सक्छ ?
हामीले ती किराती अध्येता, खोज, अनुसन्धानकर्ताहरुलाई किन पर्याप्त सहयोग गर्दैनौ ? किरातीहरुको मुन्दुमको विषयमा व्यक्तिगत रुपमा लाखौ खर्च गरेर वर्षौ सम्म खोज अनुसन्धानमा जीवन बिताएर PHD गरीरहेका मुन्दुम अध्येताहरुले अन्तत वहाँहरुको PHD गर्ने क्रममा गरेको खोजअनुसन्धान हासिल गरेको ज्ञान, सम्पुर्ण बौद्धिक सम्पत्ति भनेको समग्र किराती समाजको नै हो । तर दुःखद कुरो मुन्दुम विषयमा PHD गरीरहेका PHD Scholars हरु आर्थिक अभावको कारण किरात जन्य संघसंस्था र किराती समाजको साथसहयोगको अभावको कारण बीचमा नै आफनो अध्ययनलाई छाड्ने अवस्थामा छन् । हामीले त्यस्तो मुन्दुमको PHD Scholars हरु लाई किरात संघसंस्थाले र किरात समाजले किनल पर्याप्त सहयोग गर्न सकिरहेका छैनौं ? हाम्रो किराती समाजमा किरातकालिन ऐतिहासिक सम्पदाहरु गढि, दरबारहरु, मुन्दुम र संस्कृतिबारे लिखित दस्तावेज डकुमेन्टेसन गर्नु पर्ने खोजअनुसन्धान गर्नु पर्ने, संरक्षण गर्नुपर्ने यस्ता धेरै कुराहरु छन् तर हाम्रो किराती समाज र किरातजन्य संघ संस्थाहरु यस्ता सभासम्मेलनमा नै अल्झिरहेका छौं ।
यस (अन्तराष्ट्रिय किरात सम्मेलन) युके जस्तो ठाँउमा सम्पन्न गर्न कती रकम खर्च हुन्छ होला ? तपाईले अनुमान गर्नुभएको छ ? यस सम्मेलनमा सहभागी हुन संसारभरको किरात जन्य संघ संस्थाको उपसमितीहरुले लाखौ रुपैयाँ दायित्व स्वरुप अनिवार्य सहयोग गर्नुपर्ने, प्रतिनिधि पठाऊनु पर्ने जस्ता सर्तहरु रहेछन् । ती खाडि मुलुक कतार, साउदि, कुवेत, दुवाइ, मलेशिया लगायतका देशहरुमा निम्न तहको ज्याला मजदुरी गरीरहेका श्रमजीवी किरातीहरुले किन यस्ता औचित्यहिन सम्मेलनको लागी लाखौ रुपैयाको भार व्योहोर्नु पर्ने ?
संसारभरीका किरात संघ संस्थाको प्रतिनिधिहरु युकेमा भेला हुनको लागी प्लेन टिकट आऊने जाने खर्च, खानेबस्ने खर्च गर्दा कती लाख करोड खर्च हुन्छ ? अनी यतीका मंहगो खर्च गरेर गरेको सभा सम्मेलन गरेबापतको उपलब्धी चाँहि के त ? यो कुरालाई किरातजन्य संघ संस्थाको साथीहरुले यसलाई विरोधको रुपमा नबुझिदिनको लागि अनुरोध गर्दछु । म कहिल्यै पनि विरोधको लागी मात्रै विरोध गर्ने मानिस होइन । हाम्रो किराती समाजमा अहिले आफनो भाषा, धर्म, संस्कार, संस्कृति, लिपि मुन्दुम, ईतिहास विभिन्न किरातकालिन ऐतिहासिक स्थल गढिहरु, दरबारहरु, लोपन्मुख भग्नावशेषहरु खोजअनुसन्धान गरी प्रभावकारी संरक्षणमा जोड दिएइको देखिन्दैन ।
खोज अनुसन्धान गरिएका सामग्रीहरुलाई समेत डकुमेन्टेसन वा लिपिबद्ध गरी संरक्षण गर्नुपर्ने कामहरु भएको पाइन्दैन । तर किराती समाज यस्ता प्रभावकारी विहिन सभा सम्मेलनमा लाखौ करोडौ खर्च गर्ने गलत प्रवृती हाबी भईरहेकोले किराती समाज गलत दिशातिर उन्मुख हुदै गईरहेको छ भनेर सचेत गराउन खोजेको हो । अतः किराती समाजमा अब यस्ता अर्थहिन औचित्यहिन उपलब्धिविहिन सभा सम्मेलन गरेर लाखौ रकम स्वाहाँ गर्नेे कामहरु बन्द गर्नु पर्दछ । यदी सभासम्मेलन गर्ने हो भने पनि उपलब्धिमूलक गरिनुपर्दछ ।
नेपालमा यतिबेला प्रदेश नामकरणको विषय पेचिलो बन्दै गएको छ । प्रदेश नं १ किरात प्रदेशमा किराती बस्तीहरुमा विश्वभरको किरातीहरुको विशाल जनसहभागितामा अन्तराष्ट्रिय किरात सम्मेलन सम्पन्न गरेर प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गर्न गराउन दवावमूलक सन्देश दिनुपर्दछ । नेपाल राष्ट्रको इतिहास नै किरात प्राचिन इतिहासबाट सुरु हुनेगर्दछ । नेपालको इतिहासले किरात इतिहासविना पूर्णता पाउन सक्दैन, त्यो अधुरो र अपुरो हुनेछ । प्राचीन किरात सभ्यताको किरातीहरुले अपनाएको धमर्, संस्कार, संस्कृती नै नेपाली सभ्यता संस्कृती र धर्मको प्रवेशद्वार हो । नेपाल राष्ट्र त्यती प्राचीन हो जत्ती किरात सभ्यता र इतिहास प्राचीन छ । विश्वमा किरातहरुले नै मानव सभ्यताको विजारोपण गरे, नेपालमा सर्वप्रथम किरातीहरुले नै मानव सभ्यताको विगुल फुकेको जगजाहेर नै छ ।
किरातीहरुको प्राचीन शाषनकाल नै नेपाली संस्कृतीको उत्पती हो । विश्वकै प्राचीन सभ्यता, धर्म मध्येको एक हिन्दु आर्य सभ्यता, धर्मको पनि मुल आधार स्तम्भ किरात नै हो । हिन्दुआर्यहरुको ऋग्वेद देखी पुराण, समृती, काव्य, कथा, प्रशस्ती र अभिलेखहरु देखी बौद्ध,जैन अभिलेखहरु पनि किरातको इतिहासलाई मूलआधार स्तम्भ मानिएको छ । किनभने किरात इतिहासबिना अधुरो अपुरो रहन्छ । नेपाल राष्ट्रको इतिहास नै प्राचीन किरातकालबाट रचना सुरु भएको प्राचीन किरात सभ्यता नै हिन्दु सभ्यता संस्कृतीको मुल आधारस्तम्भ भएको यस्तो गौरवमय इतिहास र सभ्यताको सम्मान स्वरुप प्रदेश नं १ लाई प्राचीन मानव सभ्यता, संस्कृत, इतिहास, भुगोल र आधारस्तम्भको आधारमा सम्मान स्वरुप सबै जातजाती, भाषाभाषी, वर्ग लिङ्ग, साथै समग्र प्रदेश नं १ भित्रका जनताको धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक स्वतन्त्रता सहित किरात प्रदेश नामकरण गरीनु नै वैज्ञानिक पुष्ठि ठहरीनेछ ।
किरात सभ्यता, संस्कृती र इतिहासको सम्मान हुनु नै नेपालको इतिहास र संस्कृतीको सम्मान हुनु हो । अतः समग्र नेपाल र नेपालीको सम्मान हुने गरी किरात अन्तराष्ट्रिय सम्मेलन नेपालको प्रदेश नं १ किरात प्रदेशमा गरी विश्वभरका किरातीहरु भेला भै किरात प्रदेश नामकरणका लागि दवाव दिऔं र किरात प्रदेश नामकरण गरौ ।
यो उहाँको निजि विचार हो ।

