गाइघाट, १९ माघ ।
समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेकपा र कांग्रेसले ल्याएको सात अन्चलको कथित सङ्घीयता आफूहरुलाई मान्य नहुने बताएका छन् । आइतबारबाट उदयपुरको गाइघाटमा सुरु दुई दिने पार्टी प्रशिक्षणमा बोल्दै नेता राईले भने-‘नेकपा र कांग्रेसले सङ्घीयताको नाउँमा साबिकको १४ अन्चललाई घटाएर सात अन्चलमा रूपान्तरण गरेका छन् । नाम बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम राखेका छन् । यसले सङ्घीयताको मर्मलाई सम्बोधन गर्न सकेको छैन ।’
देश सङ्घीयतामा गैसकेको अवस्थामा संविधानमै मातृभाषालाई राष्टृय भाषाको रूपमा स्वीकार गरिसक्दा पनि राज्यले मातृभाषाहरुलाई प्रयोगमा ल्याउन नसक्नु दुखद् भएको राईले टिप्पणी गरे । उनले मातृभाषाको प्रयोग नहुँदा लोप भएर जाने खतरा बढेको औंल्याए ।

त्यस्तै नेता राईले न्यायपालिकाको संरचना एकात्मक किसिमको भएको भन्दै यसलाई सङ्घीयताको ढाँचामा लैजानुपर्ने बताए । सर्वोच्च अदालतमा २५ हजार मुद्दा थाँती रहेको भन्दै उनले कम्तिमा देवानी मुद्दाहरुको अन्तिम फैसला गर्ने अधिकार उच्च अदालतहरुलाई दिएर आमजनतालाई न्यायमा पहुँच पुर्याउन सकिने दावी गरे ।
राजपासँगको पार्टी एकीकरण सम्बन्धमा कार्यकर्ताहरुको जिज्ञासाको जवाफ दिँदै उनले भने -‘दुवैतर्फबाट पार्टी एकताको निम्ति जुन पहलहरु भएका थिए, अवस्था त्यस्तै छ । आशा गरौं, भर नपरौं ।’

समाजवादी पार्टी र अन्य पार्टीबीचको भिन्नता बारे बोल्ने क्रममा वरिष्ठ नेता राईले नेकपा र कांग्रेस नामले फरक जस्तो लागे पनि कार्यशैलीका हिसाबले एकै भएको र सङ्घीयताको मर्मलाई आत्मसाथ गर्न नसक्ने पार्टीहरु हुन् भन्दै आलोचना गरे ।
समाजवादी पार्टी प्रदेश नम्बर १ समितिको आयोजनामा सुरु प्रादेशिक प्रशिक्षणमा पार्टीका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, हेमराज राई, पर्शुराम खापुङ, महासचिव रणध्वज कन्दङ्वा, सचिव पर्शुराम बस्नेत लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको समाजवादी पार्टी प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।
पार्टीको ३ महिने विसु अभियान अन्तर्गत सोमबारसम्म चल्ने प्रशिक्षणमा पार्टीका केन्द्रीय तह, प्रदेश तह, जिल्ला नेता र जनवर्गीय संगठनका नेता सहभागी छन् ।

