झापा, ९ भदौ । झापामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नं. ३ का ७० वर्षीय साइला टुडुलाई २५ वर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको हो ।
सोमबार राति साढे ११ बजेको छोरा सुनिलले आफ्ना बुवा साइलालाई एक्कासि बाँसको भाटाले प्रहार गरेका थिए । कुटपिटबाट गम्भीर घाईते भएका उनलाई उपचारको लागि स्थानीय मेडिकलमा लगिएको थियो ।
स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सुविधा सम्पन्न अस्पतालमा लैजान भनिएको थियो । तर आफन्तले अस्पताल नलगी घरमै राखेका थिए। त्यसैक्रममा उनको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोही कारणबाट मृत्यु भएको भनी जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले सुनिललाई पक्राउ गरी घटनाको बारे थप अनुसन्धान भइरहेको डिएसपी राकेश थापाले बताए ।

