adv

इलाममा पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङलाई शाख जोगाउन सकस

२६ माघ, इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुभासचन्द्र नेम्बाङ कुनै समय सहयात्री हुनुहुन्थ्यो । एजेन्डा र मोर्चा एउटै हुनुहुन्थ्यो । त्यतिमात्र होइन इलाम आदर्श स्कुलमा सँगै पढेका दौंतरी हुनुहुन्छ । उरु राजनीतिक प्रतिस्पर्धी भन्दा पनि एक आपसका सहयोगी हुनुहुन्थ्यो । अहिले पनि संगठन विस्तार र सामाजिक विकासमा उहाँहरुको योगदानको उच्च कदर हुनेगर्छ ।

सुभासको तुलनामा झलनाथले राजनीतिक रुपमा धेरै सफलता हासिल गर्नुभएको छ । एक दशक नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व सम्हाल्नुभयो । त्यस्तै नेपालको ३५ औं प्रधानमन्त्रीको कुर्सी पनि सम्हाल्नुभयो ।

सुभास भावी प्रधानमन्त्रीका उम्मेदवार मात्र हुनुहुन्छ । तर ऐतिहासिक संविधान सभाको सभामुख बनेर नेपालको राजनीतिक इतिहासमा आफ्नो नाम स्वर्णीम अक्षरमा लेखाउनुभएको छ । इलामका दुईवटा क्षेत्रबाट पटक पटक सांसदको माला लगाएका झलनाथ र सुभास यतिबेला दुई ध्रुवमा प्रष्ट रुपमा विभाजित भएका छन् ।

पछिल्लो समय नेकपा एकढिक्का हुँदा पनि एउटै कित्तामा उभिन नसकेका यी दुई राजनीतिक हस्ती यतिबेला झनै छिन्नभिन्न अवस्थामा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास पात्रका रुपमा नेम्वाङले जिम्मेवारी सम्हाल्नुभएको छ भने खनालले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहको एक हिस्सेदार बनेर मोर्चा सम्हालि रहनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई ध्रुवमा विभाजित यी दुई नेता गृहजिल्लामा आफ्नो अस्तित्व रक्षामा जुटेका छन् । विरलै मात्र गृहजिल्ला पाइला टेक्दै आएका यी दुई नेता यतिबेला जिल्लामा आफ्नो समूहलाई बलियो बनाउने अभियानमा छन् । नेम्वाङ र खनाललाई पहिलेको आफ्नो शाख जोगान निकै सकस परिरहेको छ ।

केन्द्रिय स्तरका नेताहरु विभाजित बनेपछि त्यसको असर गाउँ गाउँसम्म मात्र पुगेको छैन, कार्यकर्तामा निराशा पनि पैदा भएको छ । कार्यकर्ताको मनोबल बढाउन खनाल आफ्नै जिल्लामा सक्रिय हुनुभएको छ । त्यस्तै नेम्बाङले पनि आफ्ना जिल्लास्तरका नेतालाई परिचालन गरिसकेका छन् । यद्यपी, गृहजिल्लामा झलनाथ र सुभासले आफ्नो पूरानो शाख र गरिमा कायम राख्नसक्ने अवस्था भने गुम्दै गइरहेको छ ।

हुनत झलनाथको समूह भन्दा नेम्वाङ आवद्ध ओली समूह इलाममा बलियो देखिन्छ । खनालकै नेता तथा कार्यकर्ताहरुलाई सुभासले आफ्नो खेमामा भित्र्याउँदै लगेका छन् । त्यसको काउन्टर दिन खनालको समूह त्यति मजबूद देखिएको छैन् ।

पूर्व माओवादी केन्द्रभन्दा पूर्व एमाले इलाममा बलियो मानिने भएपनि झलनाथ खनाल प्रचण्डको कित्तामा उभिनुलाई कतिपय अगुवा कार्यकर्ताले दुर्भाग्यपूर्ण मानेका छन् । जसको असर प्रत्यक्ष रुपमा झलनाथलाई परेको छ । उहाँका सारथीहरुले धमाधम साथ छाड्न थालेका छन् ।

नेपालको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार हटाइएको सार्वजनिक अभिब्यक्ति दिए पनि ओलीको बचाउमा उत्रिएर बदनाम बनेका नेम्वङको शाख पनि पहिलेजस्तो छैन् । इमान्दारिता र शालीनतालाई दाउमा राखेर उहाँले ओलीको कदमलाई साथ दिएका कारण नेम्वाङको साथ छाड्ने कार्यकर्ताको संख्या पनि उत्तिकै छ ।

हुनत प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारवटै क्षेत्र नेकपाको एकलौटी छ । यसैगरी १० वटा स्थानीय तहहरुमध्ये सबै चार वटा नगरपालिकाको प्रमुख उपप्रमुख र छ वटा गाउँपालिका मध्ये तीनमा अध्यक्ष र पाँचमा उपाध्यक्ष नेकपाले जितेको छ । उपाध्यक्ष जितेको गाउँपालिकामा पनि नेकपाकै स्पष्ट बहुमत छ ।

प्रदेशमा निर्वाचितहरुमध्ये धिरेन्द्र शर्मा रमण मात्रै साविकको माओवादी केन्द्रबाट निर्वाचित हुन् । जिल्ला समन्वय समितिमा सबै साविक एमालेका जनप्रतिनिधिहरुले जितेका छन् । वास्तवमा पूर्व माओवादी केन्द्र इलाममा कमजोर छ । जसको समूहलाई झलनाथले नेतृत्व गर्नु राजनीतिक यात्रा ओरालो लागे सरह मानिन्छ ।-हाम्रा कुरा

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु