दमक, ८ असोज ।
दमक–६ स्थित फाल्गुनन्द सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (फाल्गुनन्द साकोस)को बिहीबार सम्पन्न १०औं साधारणसभाबाट पदम लिम्बू लिङ्देन (संकल्प) अध्यक्षमा भारी मतले निर्वाचित भएका छन् ।
चौंथो कार्यकालका लागि अध्यक्ष पदका उम्मेद्वार लिम्बूले ६ सय १८ मत पाए भने उनका प्रत्यासी महेन्द्र चाम्लिङले २ सय ८३ मत पाएका थिए । चाम्लिङ संस्थाको निवर्तमान उपाध्यक्ष हुन् ।
नयाँ नेतृत्व चयनका लागि अध्यक्ष र सचिव पदमा निर्वाचन भएको थियो भने अन्य पदमा सहमति जुटेको थियो ।
सचिव पदमा देशराज नेम्बाङ पनि अत्यधिक मतले विजयी भए । नेम्बाङले ६ सय २ मत ल्याए भने उनका प्रत्यासी जितबहादुर पन्धाक (जितेन)ले २ सय ९२ मत पाए । नेम्बाङ संस्थाका पूर्व सचिव हुन् भने पन्धाक संस्थापक सदस्य हुन् ।
यस्तै उपाध्यक्षमा दिलिप जबेगु, महिला उपाध्यक्षमा फूलकुमारी आङ्देम्बे, कोषाध्यक्षमा संगीता सेरेङ (इक्सा) सर्सम्मत निर्वाचित भए । त्यस्तै सदस्यमा क्रमशः गुमानसिंह सम्बाहाम्फे, मनकुमारी पन्दाक, खड्ग राई र कमल योङहाङ सर्वसम्मत निर्वाचित भए ।
लेखा समिति संयोजकमा लीलाराज तुम्बापो, सदस्यहरुमा वीरबहादुर लावती र शक्ति साम्बा सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक चुडामणि ओझाले जानकारी दिए ।
निर्वाचन समिति संयोजक ओझाका अनुसार १६ सय ४८ शेयर सदस्यहरु रहेकामा ९ सय ७४ जनाले मतदानमा भाग लिएका थिए । जसमा ६३ मत बदर भएको थियो ।
५३ प्रतिशत बढी शेयर सदस्य वृद्धि, बिर्तामोड र झिलझिलेमा शाखा विस्तार
यसैबीच फाल्गुनन्द साकोसले आर्थिक वर्ष २०७७/२०७८ मा ५३.३० प्रतिशत शेयर सदस्य संख्या वृद्धि गरेको जनाएको छ । १०औं साधारणसभामा अध्यक्ष पदम लिम्बू लिङ्देन (संकल्प)बाट जारी प्रतिवेदनमा जनाइए अनुसार शेयर सदस्य संख्या १०७५ बाट बढाएर १६४८ पुर्याइएको हो । हालको शेयर पुँजी ३ करोड ६५ लाख १२ हजार ३ सय रहेको प्रतिवदेनमा उल्लेख छ ।
त्यस्तै फाल्गुनन्द साकोसले आ.व. २०७६/०७७ र २०७७/२०७८ मा कोरोना ब्याज छुट वापत शेयर सदस्यहरुलाई १० लाख ७ हजार ३० रूपैयाँ छुट दिएको प्रतिवेदनमा उल्लेख छ ।
आ.व. २०७७/०७८ मा ५८ लाख ७ सय ७९ रूपैयाँ ८४ पैसा खुद नाफा कमाएको साकोसले ५० करोड ७३ लाख ३३ हजार ६ सय ५८ रूपैयाँ निक्षेप संकलन गरेको जनाएको छ ।
बिर्तामोड र झिलझिलेमा सेवा केन्द्र विस्तार गरेको फाल्गुनन्दले यस आ.व. मा अर्जुनधारा, कनकाई, मेचीनगर, भद्रपुर, उर्लाबारी नपाहरुमा समेत सेवा केन्द्र विस्तार गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कमल, चुलाचुली, माङसेबुङ र मिक्लाजुङ गापाहरुमा पनि सेवा केन्द्र विस्तारको प्रस्ताव गरेको हो ।
प्रतिवेदनमा एम्बुलेन्स सेवा सञ्चालन, कार्यालय भवन निर्माणका लागि जग्गा खरिद, फाल्गुनन्द पत्रकारिता सम्मानलगायत जेष्ठ नागरिक सेवा, रक्तदान, प्राकृतिक प्रकोपमा परेका पीडितलाई सहयोगलगायत सामाजिक सेवाका विभिन्न योजना प्रस्ताव गरिएको छ ।