काठमाडौं, कार्तिक २७ ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नम्बर १ को नामाकरण बहुपहिचानमा आधारित भएर राखिने बताएका छन् ।
शनिबार किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन २०७८ लाई विशिष्ट अतिथिको हैसियतले सम्बोधन गर्दै मुख्यमन्त्री राईले आफू कुनै पनि हालतमा बहुपहिचानको बाटोबाट पछि नहट्ने बताएका हुन् ।
सम्बोधनका क्रममा राईले भने –‘सुम्निमा पारुहाङको कसम खाएर भन्छु । मट्टीको कसम खाएर भन्छु । बहुपहिचानबाट पछि हट्ने छैन ।
तर मुख्यमन्त्रीले बहुपहिचानका आधारमा राखिने प्रदेशको नाम बारे भने केही बोलेनन् ।’
प्रदेश सभाभित्रको संख्याको चर्चा गर्दै उनले हिजो आफूहरु नेकपामा रहेको समयमा दुईतिहाई बढी संख्या रहेको तर प्रदेशको नाम शीर्ष नेताबाट कोशी प्रदेश राख्न निर्देशन दिएको भन्दै त्यसविरुद्ध माओवादीका सभा सदस्यहरुसँग मिलेर आफूले विद्रोहको चेतावनी दिएको स्मरण गरे ।
आफ्नै पार्टीका नेताहरु पनि पहिचानको विपक्षमा रहेको भन्दै मुख्यमन्त्री राईले आफूले नेतृत्व गरिरहेको गठबन्धन दलहरु र प्रतिपक्षी नेकपा एमालेसँग पनि बहुपहिचानमा आधारित प्रदेशको नामाकरणका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संविधानमा जातीय समानताको कुरा उल्लेख हुनुले पनि हिजो मुलुकमा जातीय असमानता र उत्पीडन थियो भन्ने कुरा प्रष्ट हुने भन्दै मुख्यमन्त्री राईले भने –‘पृथ्वीनारायण शाहको राज्य विस्तार र असली हिन्दुस्थान बनाउने सपना, जंगबहादुरको मुलुकी ऐन जस्ता विषयले जातीय असमानता राज्यबाटै भएको प्रष्ट हुन्छ ।’
जातीय असमानता कायम रहेसम्म उत्पीडित जाति समुदायलाई अग्राधिकार र आरक्षणको हक हुने भन्दै उनले भने –‘संसार जनावर जोगाउन लागेको छ । यहाँ राज्यको विभेदले मान्छे नै मासियो ।’
किरात सभ्यता प्राचीन र समृद्ध सभ्यता भएको उल्लेख गर्दै राईले यो सभ्यतालाई पछि पार्न खोज्दा राज्य नै पछि परेको जिकिर गरे ।