adv

युवाको आवश्यकताका लागि मेरो उम्मेद्वारी : विष्ट

२३ बैशाख, दमक । पवन विष्ट, जनता समाजवादी पार्टी, नेपाल जसपाका तर्फबाट दमक नगर प्रमुख पदका प्रत्यासी उम्मेद्वार । दमकमै जन्मिएका र यहाँकै स्थायी वासिन्दा उनी जसपाका प्रदेश नम्बर १ सदस्य र जसपा निकट समाजवादी युवा संघका प्रदेश नम्बर १ का मुख्य सचिव पनि हुन् ।

दमकस्थित सरस्वती माविबाट प्रवेशिका परीक्षा उत्र्तीण गरेका उनेको औपचारिक शैक्षिक यात्रा दमक बहुमुखी क्याम्समा पुगेर सकियो । त्यसयता कुनै न कुनै पाटोबाट दमकबारे चिन्तन र वहस गर्दै आएको उनको दावी छ । उमेरले ४० र ५० को मझधारमा हिँडिरहेका विष्टको बुझाइमा पुराना र नयाँ दुवै पुस्ताका लागि आफू र आफ्नो अनुभव ट्रान्जिट प्वाइन्ट हुने छ ।

चुनावी प्रचारका क्रममा यिनी शुक्रबार बिहान दमक १ मा भेटिए । भेटका क्रममा उम्मेद्वार विष्टले भने –‘दमक र दमकका जनतालाई भ्रामक आश्वासन बाँड्न र भड्किलो चुनावी रौनकमा रमाउन मेरो उम्मेद्वारी होइन । मेरो उम्मेद्वारी दमक रूपान्तरणका लागि हो । यो काम दमकका युवाले नै गर्नु पर्दछ ।

दमकेली युवाहरुले अबको राजनीतिमा जबरजस्त हिस्सेदारी खोज्नै पर्ने मतसहित विष्ट भन्छन् –‘राजनीतिक जित हारका लागि नभइ दमकको राजनीतिमा युवाको आवश्यकता बुझाउन उम्मेद्वारी दिनु परेको हो । बिहीबार दमक ६ स्थित दमकको मुख्य बजार क्षेत्रमा कोणसभामा बोल्दै गर्दा पनि धेरैले सुनेर प्रतिक्रिया दिएको उनको भनाइ छ । विष्ट भन्छन् –‘दमकका धेरै सेचत र जागरुक मानिसहरुले हाम्रो उम्मेद्वारीलाई चासोका साथ हेर्नुभएको छ । वैकल्पिक राजनीति र विचार बोकेर राजनीति गर्ने हाम्रालागि यो गतिलो पाठशाला हो ।

दमकमा राप्रपा, कांग्रेस र माओवादी सम्मिलित समिकरणबाट नगर प्रमुख पदमा राम थापा र नेकपा एमालेबाट निवर्तमान उप–प्रमुख गीता अधिकारीले प्रमुखको प्रत्यासीका रूपमा कडा चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । यसैबीच युवा नेता विष्टले जसपाबाट उम्मेद्वारी दिएका हुन् । दमक २, दमक ७ र दमक ९ बाट क्रमशः विष्टसँगै युदबहादुर लावती (आकाश), दिपबहादुर भूजेल (मिथुन) र दुर्गा तामाङ (दोर्जे)ले खुला सदस्यमा उम्मेद्वारी दिएका छन् ।

पार्टी चुनाव चिन्ह छातामा मत माग्दै हिँडेको यो समूहमा सबै युवा उमेरका देखिन्छन् । तपाईंलाई सानो दलको उम्मेद्वारले जित्दैन भनेर मत नदेलान् नि त ! भनी सोधिएको प्रश्नमा उनले भने –‘राजनीति, विजय र मत जित्नेका लागि दिने भन्दा पनि परिवर्तनका लागि गर्ने र दिने हो । जित्नेलाई मात्रै मत दिनुपर्छ भन्ने मान्यता राख्नेले त मत नहाले पनि कसै न कसैले जित्छ नै । मेरो भनाइ के हो भने अब जिताउनका लागि मत दिने होइन, दमक र दमकवासीको आवश्यकताका लागि मत दिने हो ।

दमकको मुख्य बजारलाई रात्रीकालिन व्यवसायमा अभ्यस्त नबनाएसम्म जतिसुकै पर्यटन र व्यापार वाण्ज्यिको कुरा गरे पनि त्यो मिथ्या हुने उनको तर्क छ । विष्टसहित जसपाका उम्मेद्वारले जारी गरेको प्रतिवद्धतापत्रमा दमकको रात्रीकालिन बजारलाई व्यवस्थ्ति गरिने उल्लेख छ ।

अत्यन्तै सीमित जनशक्तिका साथ चुनावी प्रचारमा देखिएका उनले भने –हजारौंको भिडले हरेक मतदातासँग माग्ने र मैले पनि माग्ने एकै भोट हो । ‘तपाईहरुसँग कार्यकर्ता नै नभएर होला नि … ? भन्ने हाम्रो प्रश्नमा उनले भने –अनावश्यक खर्च गरेर अघिपछि मानिस डुलाउनु र सवारी आवागमनसमेतलाई प्रभावित पार्नु ठीक होइन ।

नागरिकको दैनिकीलाई कम भन्दा कम असर पारेर निर्वाचनका काम सक्नु पर्दछ । पार्टीले हूलहुज्जत र भावभंगी प्रस्तुत नगरी नै चुनावको सामना गर्ने विष्टको जिकिर छ । ‘सामान्य प्रचारात्मक घरदैलो र पार्टीको तर्फबाट दमकबारेको स्पष्ट धारणासहित प्रतिवद्धतापत्र तयार गरेका छौं । त्यसलाई प्रष्ट पार्न कोणसभा गरेका हौं, उनले स्पष्ट पारे ।

मत कति ल्याउनु हुन्छ त ? भन्ने अन्तिम प्रश्नमा विष्टले जवाफ दिए –दमकमा बस्ने र दमकलाई परम्परागत ढाँचा र शैलीबाट माथि उठाउनु पर्छ भन्ने मान्यता राख्ने हरेक मतदाताले एक भोट मात्रै दिए भने म र मेरो एजेण्डाले जित्छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु