सजन राई
मंसिर ६, दमक । ध्रुवतारा कप २०८१ को च्याम्पियन दमक ४ भएको छ । दमक नगर वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा दमक ३ लाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै दमक ४ विजेता बन्न सफल भएको हो ।
बुधबार दमक ३ स्थित प्रस्तावित मदन भण्डारी खेल मैदानमा भएको खेलको निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा दमक ३ का सुरेन तामाङ र नगेन्द्र कट्टुवालले गोल गर्दा पारस कार्की र निश्चल बस्नेतको प्रहार गोल किपर कृष्ण घिमिरेले रोकेका थिए । प्रितम कार्कीको प्रहार भने बाहिरिएको थियो । त्यसैगरी दमक ४ आयुष श्रेष्ठ, अंकित श्रेष्ठ र मुस्कानले गोल गर्दा रोशन धिमाल र अंजित भुजेल गोल गर्न असफल रहे ।
व्यक्तिगत विधातर्फ विजेता टिमका कृष्ण घिमिरे उत्कृष्ट गोल किपर, रोशन धिमाल उत्कृष्ट डिफेन्स, अंजित भुजेल उत्कृष्ट मिडफिल्डरर विजय लिम्बू उत्कृष्ट कोच घोषित भए । त्यस्तै उपविजेता टिमका निश्चल बस्नेतले हाइ स्कोरको उपाधि पाउदा प्लेयर अफ द टुर्नामेन्ट पारस कार्की भए भने रिजन राईले उदीयमान खेलाडीको उपाधि हात पारे ।
विजेताले नगद ८० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउदा उपविजेताले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि दमक नगर प्रमुख राम थापा, विशिष्ट अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराई लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस सँगै मंगरबार सम्पन्न भेट्रान्सको फाइनल खेलमा दमक १ ले दमक ३ लाई २ का विरुद्ध ४ गोल गर्दै उपाधि जितेको थियो ।
विजेताले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाए।