मंसिर ७, माङसेबुङ । इलाम जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिता आत्मानन्द गोल्ड कप २०८१ भोलि आइतबारबाट सुरु हुँदैछ ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१औं शुभ–जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा १७औं आमन्त्रित पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलाम र सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङ बिच प्रतिस्पर्धा हुदैछ । माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा हुने प्रतियोगिता मंसिर ८ देखि १७ गते सम्म सञ्चालन हुने आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मन कुमार आङबुहाङले जानकारी दिए ।
जहाँ माङसेबुङ र सिरिजङ्गा सहित दुधे यूथ क्लब झापा, चुलाचुली स्पोर्टिङ क्लब झापा, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, तिजोकयुवा क्लब पाँचथर, आयोजक टिम र भारतबाट एमएफसि दार्जिलिङको सहभागीता रहने छ ।
विजेताले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद दुई लाखपाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ म्यान अफ द म्याच सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले उपाधि प्राप्त गर्नेछन् ।
यस अवसरमा फुटबलसँगै म्याराथन, पक्लुङ(छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायत खेलहरु समेतहुने आयोजकले समितिले जानकारी दिए ।