मंसिर २३, इलाम । इलाम सदरमुकाममा सुरु भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो एनआरएनए इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा ‘ए’ डिभिजन क्लब काठमाडौको सङ्कटा फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउदै रेडहर्ष सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल रहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा रेडहर्षका गोलरक्षक बिबेक मगर म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार सहित ट्रफि प्राप्त गरे ।
दोस्रो दिनको खेलमा आइतबार काठमाडौको न्युरोड टिम (एनआरटी) र भारतको जीटीए–११ दार्जीलिङबिच खेल हुनेछ ।
इलामको गौरबको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजकसहित नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, काठमाडौंको संकटा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चर्ज ब्वाइज युनाइटेट, मछिन्द्र फुटबल क्लब, झापाको रेडस्टार क्लब र पाहुना टोलीको रुपमा भारतको जीटीए–११ दार्जिलिङ गरी आठ टोली सहभागी छन् ।
मंसिर २९ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले नगद रु पाँच लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमानखेलाडी र उत्कृष्ट कोचले पनि नगद रु २५ हजार पुरस्कार पाउनेछन् ।