गोविन ल्वागुन, शिवसताक्षी । झापाको शिवसताक्षीमा चैत २१ देखि मेयर कप २०८१ हुने भएको छ ।
शिवसताक्षी नगर खेलकुद विकास समितिको आयोजनामा हुने मेयर कपको बुधबार नगरपालिकाको कार्यलयमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
स्थानीय तहमा राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उदेश्यले हरेक वर्ष सञ्चालन हुँदै आएको मेयर कपलाई यो पनि निरन्तरता दिइएकोछ ।
शिवसताक्षी ११ झिलझिले स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदान र कबर्ड हलमा हुने मेयर कपमा फुटबल, भलिबल, क्रिकेट, एथ्लेटिक्स, ब्याटमिन्टन र कराँतेका खेलहरु हुने नगर खेलकुद विकास समितिका संयोजक सुरज रिङ्गालुङ राइले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको फुटबल तर्फको विजेताले नगद ५५ हजार र उपविजेताले ४१ नगद हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरि भलिबल र क्रिकेट तर्फ विजेता टिमले नगद ३५ हजार र उपविजेताले नगद २५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । एथ्लेटिक्स, ब्याडमिन्टन र कराँतेलाइ भने ५० हजारका दरले बजेट छुट्याइएको छ ।
यहिँ चैत्र २१ गते बाट २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको लागि जम्मा ८ लाख रुपैयाँ विनियोजन गरेको नगर खेलकुद विकास समितिका सदस्य सचिव तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरिक्षक सुशील थापा मगर, नगरपालिकाको जिन्सी शाखाका प्रमुख कुबेर योङहाङ, वडा सदस्य लासाङ लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा फुटबल प्रतियोगितामा हरेक खेलका म्यान अफ द म्याचलाई प्राइम बैंकले २ हजार १ सयका दरले पुरस्कार दिने बैंकका झिलझिले शाखा प्रमुख दिनेश लुइँटेलले घोषणा गरेका छन् ।
नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङको प्रमुख उपस्थितीमा नगरका जनप्रतिनिधिहरु, वडास्तरीय खेलकुद विकाससमितिका संयोजकहरु लगायत सञ्चारकर्मीहरुको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो ।
जस अनुसार फुटबल तर्फको उद्घाटन खेल वडा नम्बर २ र ३ बिच हुने छ भने क्रीकेट तर्फ वडा नम्बर १० र ११ बिच हुनेछ । प्रतियोगिताको उद्घाटन शिवसताक्षीका नगर प्रमुख मेगाहाङ थोप्राले गर्ने बताइएको छ ।