माङसेबुङ । इलामको माङसेबुङ–६ मा टोल स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । साबिक वडाहरुलाई मिलाएर बनाइएको टोल स्तरीय प्रतियोगिता वैशाख १४ गते देखि सुरु हुनेछ । प्रतियोगितामा महिला तथा पुरुष फुटबल सहित भेट्रान्स फुटबल र ३० वर्ष माथिका महिलाहरुको लागि लुङ्गी फुटबल खेल हुनेछ ।
माङसेबुङ ६ स्थित हस्टेमा रहेको पारुहाङ खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता माङसेबुङ ६ को सहयोग तथा माङसेबुङ ६ टोलस्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा हुनेछ ।
रास्ट्रको लागि खेलकुद, स्वस्थको लागि खेलकुद भन्ने मूल नाराका साथ प्रत्येक वर्ष आयोजना भइरहेको प्रतियोगिताको महिला तथा पुरुष फुटबलको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् भने भेट्रान्स तर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद सहित उपाधि पाउनेछन् । त्यसैगरी लुङगी तर्फको विजेता र उपविजेताको पुरस्कार क्रमशः ५ हजार र २ हजार ५ सय रुपैयाँ सहित ट्रफि रहेको छ ।
गत वर्ष पुरुष फुटबलमा बाँझो ३ ले बाँझो १ लाई पराजित गर्दै पुन: विजेता भएको थियो । प्रतियोगिता अन्तर्गत भएको महिला फुटबलतर्फ बाँझो ५ लाई हराउदै बाँझो ३ विजेता बनेको थियो । सोहि प्रतियोगितामा भएको भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि भने बाँझो ३ लाई हराउदै बाँझो ६ ले जितेको थियो ।
इन्ट्रिको लागि अन्तिम मिति जेठ १२ गते २:०० बजे सम्म रहेको र लट्री गर्ने अन्तिम समय बेलुकी ५:०० बजे रहेको आयोजक समितिले जानकारी दिए ।
प्रतियोगितामा ९ जनाको सेट सहित ३ जना अतिरिक्त खेलाडी हुनुपर्ने छ । खेलाडीसँग जुत्ता, मोजा, प्याड, जर्सी, क्याप्टेन ब्याज अनिवार्य हुनुपर्ने अन्यथा एक हजार रुपैयाँ जरिवाना लाग्ने आयोजकले बताएका छन् ।
साथै लट्रि गर्दा प्रत्येक टोलको १ जना पुरुष, १ जना महिला प्रतिनिधि अनिवार्य उपस्थित हुनु पर्ने आयोजकको भनाई रहेको छ ।




