माङसेबुङ । इलामको माङसेबुङ–६ मा जारी टोल स्तरीय फुटबल प्रतियोगिताको चौथो दिन शनिबार दुई वटा फाइनल खेलहरु सम्पन्न भएको छ । पहिलो फाइनल खेलमा महिला फुटबल तर्फ बाँझो ३ ले बाँझो ६ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउदै उपाधि जितेको छ । निर्धारित समय १–१ गोलको बराबरी पछि खेल टाङब्रेकर तर्फ धकेलिएको थियो ।
पुरुष भेट्रान -विजेता, बाँझो ६
यससँगै पुरुष भेट्रानको फाइनल खेलमा बाँझो ५ लाई शून्यका विरुद्ध एक गोल गर्दै बाँझो ६ विजयी भएको हो ।
महिला टिम-विजेता, बाँझो ३
शनिबार नै भएको पुरुष तर्फको पहिलो सेमिफाइनल खेलमा बाँझो १(बी)ले बाँझो ३(बी)लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा बाँझो ६(ए)ले र बाँझो ३(ए)लाई ४–० गोलले हराउदै उपाधि भिडन्त पक्का गरेको हो ।
आइतबार पनि दुई वटा फाइनल खेलहरु हुनेछ । जस अन्तर्गत पुरुष फुटबल तर्फ बाँझो १(बी) र बाँझो ६(ए) बीचको खेल रहेको छ भने महिला लुङ्गी ३० वर्ष माथिका फुटबल खेलमा बाँझो ५ र बाँझो ६ खेल्नेछ ।
पुरुष टिम बाँझो १
प्रतियोगितामा महिला तथा पुरुष फुटबल सहित भेट्रान्स फुटबल र ३० वर्ष माथिका महिलाहरुको लागि लुङ्गी फुटबल खेल सहित चार विधामा खेलहरु भएको थियो ।
माङसेबुङ ६ स्थित हस्टेमा रहेको पारुहाङ खेल मैदानमा सञ्चालित प्रतियोगिता माङसेबुङ ६ को सहयोग तथा माङसेबुङ ६ टोल स्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा भइरहेको छ ।
पुरुष टिम बाँझो ६
प्रतियोगिताको महिला तथा पुरुष फुटबलको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् भने भेट्रान्सतर्फ विजेताको १० हजार र उपविजेताको ५ हजार नगद सहित उपाधि पाउने छन् । त्यसैगरी लुङगी तर्फको विजेता र उपविजेताको पुरस्कार क्रमशः ५ हजार र २ हजार ५ सय रुपैयाँ सहित ट्रफि रहेको छ ।