दमक । झापाको दमकमा आयोजित प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता २०८२ को उपाधि आयोजक ‘ए‘ ले जितेको छ ।
दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा शनिबार सञ्चालित फाइनल खेलमा दमकको बबाल एफसिलाई १०–२ गोल अन्तरले पराजित गर्दै आयोजक च्याम्पियन बनेको हो ।
पहिलो सेमिफाइनल खेलमा बबाल एफसिले आयोजक ‘बि‘ लाई २ का विरुद्ध ५ गोल गर्दै फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनल खेलमा आयोजक ‘ए‘ ले रणभूमि एफसिलाई ३–२ गोलले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।
व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच आयोजकका सुशान्त राई भए भने उत्कृष्ट गोल किपर आयोजकका सुभम भूजेल हुँदा हाइ स्कोररको उपाधि बबाल एफसिका समिर गुरुङले प्राप्त गरे । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि आयोजकका लेसन राईले हात पारे ।
विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि हात पार्यो भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफिमा चित्त बुझाउनु परेको थियो ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि दमक नगर खेलकुद समितिका अध्यक्ष भिमराज केसि, ध्रुवतारा स्पोर्टिङ क्लबका अध्यक्ष मोहन मगर लगायत अतिथिहरु दमक उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक खानेपानी उपभोक्ता समितिका अध्यक्ष रवि केसि, तुलसी राम तिम्सिना, दमक वडा अध्यक्ष कुबेर भट्टराई, दमक नमुना ब्याटमिन्टन क्लबका अध्यक्ष प्रकाश राई, रोयल स्पोर्टिङ क्लबका अध्यक्ष राजु खड्का, दमक ५ का वडा सदस्य खड्ग राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा भएको प्रतियोगिता साउन २ र ३ गते दुई दिन सञ्चालन भएको थियो ।



