माङसेबुङ । इलामको माङसेबुङमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेशको लहर बढ्दो छ ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा माङसेबुङ इन्चार्ज जनम खम्बुका अनुसार २०८२ सालमा माङसेबुङ भित्रका विभिन्न पाँच ठाउँमा २४० जनाले पार्टी प्रवेश गरेका छन् । जसअन्तर्गत जेठ २८ गते माङसेबुङ ३ खुन्द्रुका टोलमा ४३ जनाले पार्टी प्रवेश गरेका थिए । यसैगरी असार ८ गते माङसेबुङ ३ कै सिङ्लाबु टोलमा ७६ जना, असार २४ गते माङसेबुङ ५ चुनिया टोलमा २८ जना र असार ३०गते ३ नम्बर वडाको चतुरे बजारमा ८० जनाले एमाले र काङग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए । यसका साथै साउन ४ गते माङसेबुङ २ मा १३ जनाले प्रवेश गरेका छन् ।
खम्बु भन्छन्– अहिले सम्मको तथ्याङ्क हेर्दा उपलब्धि मान्न सकिन्छ । तर अझै केही ठाउँको पार्टी प्रवेश कार्यक्रम बर्खाको कारण र भौगोलिक कठिनाइको कारणले सम्पन्न गर्न सकिरहेको छैनौ । मिती नै तोकिसकिएको ठाउँमा समेत प्रतिकूल मौसमका कारण समस्या हुँदा केही ढिलाइ भएको छ । २०८१ फागुन २४ गते गाउँपालिका अधिवेशन हुँदा ३७ जनाले पार्टी प्रवेश गरेको थियो भने त्यसभन्दा अगाडी पनि विभिन्न समयमा माङसेबुङमा पार्टी प्रवेश गरेको थियो । अहिले भने निरन्तर प्रवेशको लहर बढीरहेको छ ।
कार्यक्रममा केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य कान्छा लावती, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर राजमाखिम, माङसेबुङ गाउँपालिका अध्यक्ष प्रकाश बुढाथोकी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ लगायत पार्टीमा विभिन्नतहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।






