दमक । झापाको दमकमा अन्तर व्यवसायी ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
दमक ७ नमुना बस्तीमा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमिको हलमा आयोजित प्रतियोगितामा दमक नगर भित्रका होटल, किराना, सुनचाँदी, रेडिमेड, जुत्ता चप्पल, अटो मोबाइल, मोबाइल व्यवसायी, फार्मेसि लगायतका व्यवसायीहरुको सहभागिता रहने आयोजक समितिका सदस्य पुष्पराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार यस लगायत बैंकर्स, नगर कर्मचारी, पत्रकार लगायतका संस्थाहरुको समेत प्रतियोगितामा सहभागी हुनेछ ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारा रहेको प्रतियोगिता आपसी भाइचारा, सद्भाव कायम राख्न आयोजना गरिएको पाण्डे बताउछन् । उनी थप्छन– पुष ३ गते देखि दमकमा हुन लागेको राष्ट्रिय स्तरको पहिलो दमक नमुना ब्याडमिन्टन प्रतियोगिताको तयारीको लागि पनि यो प्रतियोगिताले टेवा पुग्ने विश्वास लिएका छौ ।
यसै प्रतियोगितालाई मध्यनजर गर्दै मंसिर १२ र १३ गते दुई दिन सञ्चालन हुने भनिएको प्रतियोगितामा १२ गते एकदिवसीय मात्र हुने आयोजक समितिले जानकारी गराएका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले क्रमशः नगद १० हजार, ८ हजार र ६ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


