रुसमा भईरहेको विश्वकपकै उपाधिको दावेदार मानिएको ब्राजिलले पहिलो जित हात पार्न सफल भएको छ ।
समूह चरणको पहिलो खेलमै स्विट्जरल्याण्डसँग १ -१ को बराबरी खेलेपछि ब्राजिलले जित्नै पर्ने दबाबमा थियो । शुक्रबार कोस्टारिकासँगको खेलमा जितका लागि ब्राजिललाई खेलको इन्जुरी समय कुर्नु परेको हथ्यो । थपिएको ६ मिनेटमा फिलिप कोउटिन्हो र नेइमारले ब्राजिलका लागि गोल गरे ।
तर, शुक्रबार सबैको ध्यान नेइमारको गोलभन्दा पनि उनको डाइभ र आँसुमा केन्द्रित भएको थियो । कतिपयले नेइमारले चलाखी गर्दै डाइभ हानेर रेफ्रीले छक्याउन खोजेको आरोप समीत लगाएका छन् ।
डिबक्समा नेइमार आफै कोस्टारिकाका खेलाडी जियानकार्लो गोञ्जालेजसँग ठोक्किएको बताउँदै भिडियो असिटेण्ट रेफीले ‘नो फाउल, नो पेनाल्टी’ बताएको थियो ।
त्यो त एउटा कुरा भयो तर, खेल सक्किएपछि मैदानमै घोप्टो परेर नेइमार रोएको दृश्यले सबैलाई आश्चर्यचकित बनायो । आखिर नेइमार किन रोए त ? भन्ने प्रश्न सबैको मनमा जाग्यो ।
कोही हारमा पनि रोएका छैनन् तर, नेइमार भने आफ्नो टिमको महत्वपूर्ण जितमा पनि मज्जाले रोए ।आफ्नो टिमलाई जिताउनु र गोल गर्नु विश्वकप प्रतियोगितामा सबै खेलाडीको सपना रहेको हुन्छ । नेइमार पनि आफ्नो सपना पूरा भएकोमा खुसी भए र खुसीको आँसु थाम्न सकेनन् । जसले जे अनुमान लगाए पनि खेल सकिएको केही समयपछि नेइमार आफैले इन्स्टाग्राममा आफू खुसीले रोएको बताएका छन् ।
नेइमार लेख्छन्, ‘कसैलाई थाहा छैन यहाँ के भयो । सुगा नबोल्दासम्म बोल्नुहोस् । अब त गर, केही गर । खुसीको हुन्छ आँसु, जितको हुन्छ आँसु । मेरो जीवन कहिल्यै सहज भएन र हुनेछैन । सपना जारी छ, सपना होइन… उद्धेश्य । केटाहरुलाई जितको बधाई छ ।’
पीएसजीबाट खेल्दै गर्दा गएको फेब्रुअरीमा नेइमारको खुट्टा भाँचिएको थियो । त्यसपछि लामो समय आराम गरेका नेइमार अझै पनि पूर्ण रुपमा निको भईसकेका छैनन् ।
खुट्टाको चोट बल्झिएपछि नेइमार खेल्न सक्दैनन् कि भन्ने चिन्ता सबैमा रहेको थियो । अभ्यास गर्ने क्रममा पनि दुखाई बढेपछि नेइमार बिचैमा फिजियोथेरापिस्टकोमा पुगेका थिए । तर सबैको आशाअनुरुप मैदानमा उत्रिए र गोल गर्न पनि सफल भए । सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलमा घाइते भएपछि विश्वकप गुमाएका नेइमारबाट यो विश्वकपमा धेरैले आशा राखेका छन् ।
सन् २०१४ को विश्वकपमा पनि नेइमारको ढाडमा फ्र्याक्चर भएपछि सेमिफाइनल खेल गुमाउन पुगेका थिए । त्यसबेला क्वार्टरफाइनलमा कोलम्बियाका जुवान जुनिगाले ८८ औँ मिनेटमा नेइमारलाई कुहिनाले धक्का दिएपछि नेइमारलाई चोट लागेको थियो ।
नेइमारबिना उत्रिएको ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७–१ ले पराजित भएको थियो ।