विश्वकपको समूह डी अन्तर्गत नाइजेरियाले पहिलो जित निकाल्ने क्रममा नवप्रवेशी आइसल्याण्डविरुद्ध २–० गोलको जित हात पार्न सफल भएको छ ।
यस जितले फाइदा भने अर्जेन्टिनालाई मिलेको छ । समीकरण अनुसार समूहको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियालाई हराउनुपर्ने हुन्छ । यतिले मात्र पुग्दैन क्रोएसिया र आइसल्याण्डको नतिजामा पनि भर पर्नु पर्ने हुन्छ । क्रोएसियाले आइसल्याण्डलाई हराएमा वा बराबरी खेलेमा अर्जेन्टिना अर्को चरणमा पुग्नेछ ।२ खेलबाट ६ अंक जोडेको क्रोएसिया समूहको शीर्ष स्थानमा रहँदा आजको जितसँगै नाइजेरिया ३ अंकसहित दोस्रो तथा १ – १ अंक जोडेका आइसल्याण्ड तेस्रो र अर्जेन्टिना चौथो स्थानमा रहेका छन् ।
शुक्रबारको खेलमा आइसल्याण्डले पहिलो हाफ गोलरहित बराबरीमै रोकेको थियो । तर, दोस्रो हाफमा भने बढी आक्रमक ढंगले प्रस्तुत भएको नाइजेरियाले २ गोल गर्न सफल भएको थियो । बलियो रक्षापंक्तिलाई चिर्दै अहमद मुसाले दुवै गोल गरेका थिए ।
खेलको ४९औं मिनेटमा मुसाले हाफ भली गोलमार्फत अग्रता दिलाएका थिए भने ७५औं मिनेटमा किपरसमेत बिट भइसकेको अवस्थामा सहज गोल गरेका थिए । ८२औं मिनेटमा आइसल्याण्डले पाएको पेनाल्टी अवसरमा स्ट्राइकर जिल्फी सिगर्डसन चुक्न पुगेपछी उसले २–० को हार स्विकार्नु परेको थियो ।