रेजेप तय्यीप एर्दोआन टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित भएका छन् । राष्ट्रपति चुनावको पहिलो चरणमा ने एर्दोआन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
टर्कीको सरकारी सञ्चारमाध्यमका अनुसार ९९ प्रतिशत मतगणना भैसकेको छ । जसमध्ये ५३ प्रतिशत मत एर्दोआनले प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी मुहर्रम इन्चेले ३१ प्रतिशत मत प्राप्त गरेका छन् ।
टर्कीमा राष्ट्रपति तथा संसदीय चुनाव एकैपटक भएको थियो । चुनावको अन्तिम नतिजा शुक्रबार घोषणा हुनेछ । विपक्षी दलले आधिकारिक रुपमा हार स्वीकार नगरे पनि आफूले लोकतन्त्रका लागि लडाईँ जारी राख्ने बताएको छ ।
राष्ट्रपति एर्दोआनले यसपल्ट समय आउनुभन्दा पहिले नै चुनाव गराएका हुन् । टर्कीमा लगत्तै नयाँ संविधान लागू हुँदैछ जसले राष्ट्रपतिलाई अधिकारसम्पन्न बनाएको छ । आलोचकहरुले यसले टर्कीमा लोकतन्त्र कमजोर हुने बताएका छन् । एर्दोआन सन् २०१४ मा टर्कीको राष्ट्रपति बन्नुभन्दा पहिले ११ वर्ष टर्कीको प्रधानमन्त्री बनेका थिए ।
नयाँ राजनैतिक व्यवस्थामा टर्कीमा प्रधानमन्त्रीको पद कायम रहने छैन । बीबीसी संवाददाता मार्क लोवेनका अनुसार रणनीतिक रुपमा निकै नै महत्वपूर्ण मानिएको देश टर्की हालका केही वर्षमा राजनीतिक रुपमा निकै नै विभाजित भएको बताएका छन् । साथै एर्दोआनले पनि चुनावमा कडा प्रतिस्पर्धा गर्नु परेको उनले बताएका छन् । आधुनिक टर्कीका संस्थापक कमाल अतातुर्कपछि एर्दोआन टर्कीका सबैभन्दा शक्तिशाली नेताका रुपमा उदाएका छन् ।
राष्ट्रपति पदका लागि ६ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । कुनै पनि उम्मेदवारले आधाभन्दा बढी अर्थात ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको अवस्थामा सिधै राष्ट्रपति बन्ने थिए । यदि कसैले पनि ५० प्रतिशत मत हासिल नगरेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच पुनः चुनाव हुने थियो । साथै ६०० सदस्य रहने संसदमा राष्ट्रपति एर्दोआनको सत्ताधारी पार्टी एकेपीलाई विपक्षी गठबन्धनले कडा टक्कर दिएको थियो ।
एजेन्सी