अभिनेता कबिर खड्का नयाँ प्रोजेक्टमा आबद्ध भएका छन् । बुधवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ‘तिमी र म’ नाम जुराइएको औपचारिक घोषणा गरिएको छ ।
२०१९ को जनवरीबाट छायांकन सुरु हुने यस फिल्ममा कबिरको जोडी अभिनेत्री सूर्या थापासँग बाँधिएको छ । फिल्मका लागि अझै एक नायक र एक नायिका छनौट हुन बाँकी छ ।
अष्ट्रेलियामा खिचिने लभस्टोरी जनराको ‘तिमी र म’ लाई नेपाली र अष्ट्रेलियन दुई निर्देशकले निर्देशन गर्नेछन् । सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले संयूक्त रुपमा फिल्मको निर्देशन गर्ने जिम्मेवारी पाएका छन् ।
सुनौलो सपना बोकेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा फिल्मले वाचन गर्ने निर्देशक पोखरेलले बताए । १ करोड ५० लाखमा निर्माण भ्याउन लक्ष्य लिइएको उक्त फिल्म एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको हो ।
कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको निर्माण रहने ‘तिमी र म’ को कथा उत्कृष्ट लागेर काम गर्न लागेको अभिनेता खड्काले बताए । अभिनेत्री थापाको भनाई पनि यस्तै छ । दुवै यो फिल्म करिअरका लागि सञ्जीवनी बुटी साबित हुनेमा आशावादी छन् ।