‘के म तिम्रो होइन र ?’ बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री मरिश्का पोखरेल एकपछि अर्को फिल्ममा व्यस्त भइरहेपनि त्यसको उपलब्धि देखिएको छैन । हालसम्म उनका कुनै पनि फिल्म बक्सअफिसमा हिट छैनन् ।
डेब्यु फिल्मदेखि उनको फ्लप यात्रा निरन्तर अगाडि बढिरहेको छ । दोस्रो फिल्म ‘चपली हाईट २’ ले फ्लप यात्रालाई थप कसिलो बनायो । ‘लम्फू’ बाट त उनले ह्याट्रिक नै मारिन् ।
उनलाई हालसालै प्रदर्शनमा आएका दुई फिल्म ‘मिस्टर भर्जिन’ र ‘पण्डितबाजेको लौरी’ बाट ठूलो आश थियो तर, त्यो पनि निराशामा परिणत भयो । दुवै फिल्म बक्सअफिसमा नराम्रोसँग डुबे ।
हिट फिल्म त टाढैको कुरा उनको अहिलेसम्म अभिनयको समेत वाहवाही भएको छैन । ‘साइलेन्ट क्यारेक्टर’ रहेका कारण ‘पण्डित पण्डित बाजेको लौरी’ मा उनीमाथि अभिनेत्री सन्ध्या केसी हाबी भइन् ।
‘मिस्टर भर्जिन’ मा फरक भूमिका निर्वाहा गर्न पाएको भन्दै दंग देखिएकी उनको यो फिल्मबाट न तारिफ न त आलोचना नै भयो । अभिनेत्रीको रुपमा आफूलाई स्थापित गर्न संघर्षरत मरिश्काको अब भाद्र २९ गते फिल्म ‘साली कस्को भेनाको’ रिलिज हुँदैछ ।
फिल्म करिअर अहिले यता न उताको बन्दै गर्दा उक्त फिल्मले राहतको सास फेर्न दिनेमा उनी विश्वस्त छिन् । तर, यसका लागि फिल्म बक्सअफिसमा हिट सँगै उनको अभिनयको प्रशंसा हुन अत्यन्त आवश्यक छ ।
फिल्ममा आउनु उत्ति साह्रो गाह्रो नहोला तर टिकिरहन भने सजिलो छैन । फिल्ममा भित्रिनुभन्दा अब मरिश्कालाई डुब्न लागेको करिअर बचाउन गाह्रो हुँदै गएको छ । संख्या बढाउन उद्दत रहेको आरोप समेत खेपिरहेकी उनले अब करिअरका लागि सजक हुनुपर्ने अवस्था आएको छ ।