चुलाचुली, १ पौष ।
इलामको चुलाचुली गाउँपालिकामा पाैष ३ गते बाट अध्यक्ष फुटबल कप हुने भएकाे छ । चुलाचुली खेलकुद विकास समितीकाे आयाेजनामा र चुलाचुली गाउँपालिकाकाे प्रायाेजनमा हुने प्रतियाेगितात्मक खेल पाैष ३ गते देखि १५ गते सम्म हुने आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराकाे आयाेजक समितिले जानकारी गराएकाे हाे ।
ग्रामिण भेगको खलकुद क्षेत्रमा विकाश गर्ने उदेश्यसहित आयोजना गर्न लागिएको सो फुटबल प्रतियोगितामा चुलाचुलीका ६ वटा वडाका फुटबल टोलीको सहभागिता रहने चुलाचुली खेलकुद समितीका अध्यक्ष रामप्रसाद राईले जानकारी दिनुभयो ।

चुलाचुली २ स्थित पञ्चकन्या प्रा.वि. को खेलमैदानमा हुने प्रतियोगितामा पहिलो दिन पुरुष तर्फ चुलाचुली–२ भर्सेज चुलाचुली–४ विच प्रतिस्पर्धा हुने छ । त्यसैगरी दोस्रो दिन चुलाचुली–१ भर्सेज चुलाचुली–३, तेस्रो दिन चुलाचुली २ भर्सेज चुलाचुली ६, चौथो दिन चुलाचुली ५ भर्सेज चुलाचुली ३, पाचौँ दिन चुलाचुली ४ भर्सेज चुलाचुली ६ र छैठौँ दिन चुलाचुली १ भर्सेज चुलाचुली ५ विच प्रतिस्पर्धा हुने बताईएको छ । त्यसैगरी महिला तर्फको खेल भने पौष ९ गते बाट सुरु हुने बताईएको छ । जसमा पहिलो दिन चुलाचुली १ भर्सेज चुलाचुली २, दोस्रो दिन चुलाचुली ३ भर्सेज चुलाचुली ४, तेस्रो दिन पहिलो दिनको विजेता भर्सेज चुलाचुली ५ र चौथो दिन दोस्रो दिनको विजेता भर्सेज चुलाचुली ५ विच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । चुलाचुली अध्यक्षकप फुटकलको फाईनल खेल भने महिला तर्फको १४ गते र पुरुष तर्फको १५ गते हुने बताईएको छ ।

खेलमा पुरुष तर्फको प्रथम टोलीलाई नगद रु ५० हजार रुपौँया र दोस्रो हुने टोलीलाई नगद रु ३० हजार रुपौँया सहित मेडल तथा प्रमाणपत्रको ब्यवस्था गरिएको जनाईएको छ । त्यस्तै महिला तर्फको खेलमा प्रथम हुने टोलीलाई नगद रु २० हजार र दोस्रो हुने टोलीलाई नगद रु १० हजार रुपौँया सहित मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जनाईएको छ । खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किप्पर लगायतलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
चुलाचुली खेलकुद समितीका अध्यक्ष रामप्रसाद राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिका उपाध्यक्ष निर्मला दाहालको विशिष्ट आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनमा चुलाचुली वडा न. १ का अध्यक्ष पुर्ण लावती, स्थानिय समाजसेवी संञ्जय राई, नरेन्द्र श्रेष्ठ लगायत चुलाचुली खेलकुद समितीका पदाधीकारीहरुको उपस्थिती रहेको थियो । १३ दिवसीय खेलकुद कार्यक्रमको कुल लागत अनुमान रु ५ लाख रुपौयाँ रहेको जनाइएको छ । सो सम्पुर्ण लागत खर्च गाउँपालिकाले नै प्रायोजन गर्ने छ ।

