
१, मृत्यु
यो संसार
कैयौं भ्रमहरुको गुफा हो
तर,
ती भ्रमहरुभित्र पनि
एउटा अकाट्य सत्य पनि छ
त्यो हो मृत्यु
जसलाई-
न टार्न नै सक्छौ तिमी
न त सक्छौ अस्वीकार गर्न नै ।
२, प्रवृत्ति
घाम चर्कियो भने
घामलाई सराप्छ मान्छे
पानी दर्कियो भने पनि
सिकसिको मान्छ मान्छे
आफ्नो अनुकुल त
के नै पो छ र यो पृथ्वीमा
तैपनि हरेक कुरा
आफ्नै अनुकुल चाहन्छ मान्छे ।
३, फरक
तिमी फूललाई प्रेम गर्छौ
तर, म माटोलाई प्रेम गर्छु
भलै,
फूलको यात्रा
मन्दिरसम्म नै किन नहोस्
आखिर अन्तिम गन्तव्य भन्नू माटो नै त हो ।
४, हतियार
तिमी जति नै शक्तिशाली किन नहौ
तिमी जति नै सचेत किन नहौ
जब दुश्मनी बढ्छ हतियारसँग
तब अस्तित्व समाप्तिको कारक पनि बन्न सक्छ हतियार
अतस्
कहिल्यै खेलबाड नगर्नु हतियारसँग
कहिल्यै दुश्मनी नमोल्नु हतियारसँग ।
५, ऐना
यति ठूलो संसारमा
यत्तिका मान्छेहरुको हूलमा
मेरो एकमात्र असल साथी भन्नू नै
यही एउटा ऐना हो
जो,
म रुँदा
उ कहिल्यै हाँस्दैन ।


विशेषत:
प्रिय मित्र KamanDewan र HARPRAHARNEWS.COM प्रति हार्दिक आभार !