
१११औं अन्तरास्ट्रिय नारी दिवस
शुभकामना के दिउ ?
मन उकुस–मुकुस छ
मेरो राष्ट्र नारा बनाउछ प्रत्येक बर्ष
नारीको अधिकार सुनिस्चिताताको
यो बर्षको उदार नारा
“महिलाको सुरक्षा, सम्मान र रोजगार
सम्बृद्ध नेपालको आधार”!
नारी दिवसीय नाराहरुको
अन्तरास्ट्रिय प्रतिस्पर्धा हुदो हो त
मेरो रास्ट्र कहिले दोस्रो हुने थिएन
नारी–अधिकारका नाराहरुको
चाङ्गको सिरानीमा
समृद्ध नेपालको सपना देख्ने मेरो राष्ट्र
निर्मला पन्त हत्याको
प्रतिबेदनहरुको चाङ्ग लगाउछ
हत्यारा भेट्दैन
बलात्कार, हत्या, एसिड प्रहार
दिउसै हुन्छ महिलामाथि
तर मुक दर्शक बन्छ समाज
राजनीतिको खोल मुनि
यस्तो राष्ट्रको महिला नागरिक म
प्रत्येक वर्ष नारी दिवस मनाउछु
एउटा अभिलाषा बोकेर
प्रत्येक घरका छोरीहरुले
सामाजिक मर्यादाका आडम्बरी भ्रमहरु
सिसासरी टुक्राउन सकुन्
छोरी भएकै कारण लागेका ट्यागहरू
निस्फिक्री फुकाउन सकुन्
अनुराधा कोइराला र मुस्कान खातुनको
साहस र संकल्पको बिज रोप्न सकुन्
जति अन्याय र अत्याचार भए हिजोसम्म
आजको दिनबाट यी सब रोक्न सकुन्
महिलाहरुको उत्सव
नारी दिवसको शुभकामना !
पूर्ण लिङ्देन

