adv

मुख्यमन्त्री आचार्यले आइतबार विश्वासको मत लिँदै

विपक्षी गठबन्धनले मत नदिने

विराटनगर, ५ कात्तिक ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री आचार्यले आज शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।
सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री आचार्यबाट विश्वासको मतका लागि प्रस्ताव पेश गरेलगत्तै प्रदेशसभा बैठक स्थगित गरेका थिए । सभामुख भण्डारीका अनुसार विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबारको प्रदेश सभा बैठकमा हुने छ ।
कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
शुक्रबार नै प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र छलफल र मतदान गर्ने सहमति भएको थियो । यसअघि विपक्षी गठबन्धन दलका नेताहरुले भने शुक्रबार नै विश्वासको मतका लागि मतदान हुनुपर्ने माग राख्दै आएका थिए ।
नेकपा एमालेबाट गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले गत असोज २५ गते प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएकामा शुक्रबार प्रक्रियाा अघि बढेको हो ।
एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् । नेकपा एकीकृत समाजवादीमा १० सांसदले सनाखत गरेपछि आचार्य अल्पमतमा परिसकेका छन् ।
प्रदेश सभामा हाल एमाले इतर गठबन्धसँग बहुमत सांसदहरु रहेकाले आचार्यले विश्वासको मत नपाउने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले दावी गरे । उनका अनुसार काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र लिम्बुवान समेत गरी विपक्षी गठबन्धनसँग ५० सांसद छन् ।
जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले पनि मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने स्थिति नरहेको बताएका छन् । उनले विपक्षी गठबन्धनका कुनै पनि सांसदले आचार्यलाई मत नदिने स्पष्ट पारे ।
९२ सांसद रहेको प्रदेश १ को प्रदेश सभामा एमालेसँग ४१, काङ्ग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जनता समाजवादी ३, संघीय लोकतान्त्रिक मञ्च र राप्रपाको एक–एक जना सांसद छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु