adv

एकीकृत समाजवादीका राई मुख्यमन्त्री बन्दै

विराटनगर, १६ कार्तिक ।

प्रदेश नम्बर १ को मुख्यमन्त्रीका लागि दावी पेश गरेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई आज प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्दैछन् ।

पाँच दलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलका नेता राईले केही समयपछि नै शपथग्रहण गर्दैछन् । यसअघि सोमबार एमाले नेता भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।

सोमबार नै पाँच दलीय गठबन्धनका ४९ जना प्रदेश सभा सदस्यहरुको हस्ताक्षरसहित राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मुख्यमन्त्रीसँगै गठबन्धनको तर्फबाट केही प्रदेश सभा सदस्यहरुले आजै मन्त्री पदको शपथग्रहण गर्नेछन् । मुख्यमन्त्रीको सपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सबै दलबाट १–१ जनाले मन्त्रीको सपथ लिने छन् । नेपाली काङ्ग्रेसबाट संसदीय दलका उपनेता हिमाल कार्कीलाई पठाउने लगभग टुंगो लागेको छ भने माओवादी केन्द्रबाट दलका नेता इन्द्र आङ्बोलाई पठाउने लगभग पक्का भएको बताइन्छ । तर काङग्रेस र माओवादीले आजै २–२ जना मन्त्री पठाउन दवाव दिइरहेको स्रोतको दावी छ ।

गठबन्धन दल जनता समाजवादी पार्टीको तर्फबाट संसदीय दलका नेता जयराम यादव मन्त्री बन्ने सम्भावना बलियो छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेश सभा सदस्य विष्णु तुम्बाहाम्फे पनि मन्त्री बन्ने लाइनमा छिन् ।

मन्त्रालय संख्या १० पुर्याउने बारे गृहकार्य सुरु

यसैबीच गठबन्धन सरकार बन्ने भएपछि अन्यत्र प्रदेशहरुमा झैं प्रदेश नम्बर १ मा पनि ७ वटा मन्त्रालयलाई फुटाएर १० मन्त्रालय पुर्याउने गृहकार्य थालिएको छ ।

पाँच दलीय गठबन्धनमा मन्त्रीको आकांक्षी धेरै भएपछि मन्त्रालय फुटाउने गृहकार्य सुरु भएको हो । गठबन्धनका नेताहरू मन्त्रालय संख्या १० पु¥याउने तयारीमा छन् । आकांक्षी धेरै भएका कारण मन्त्रिपरिषद् संख्या बढीमा १४ पु¥याउने तयारी छ ।

स्रोतका अनुसार प्रदेश नम्बर १ को लागि मुख्यमन्त्रीमा प्रस्तावित राईको सपथ ग्रहणपछि मन्त्रालय विभाजनका लागि अध्ययन थालिने स्रोतको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु