दमक, ४ मंसिर ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसेसिएसनले थप एक हप्ता जारी राख्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको बारको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको हो । बारले दवावका लागि आइतबारबाट लागू हुनेगरी देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो ।
बारका महासचिव लीलामणि पौडेलबाट शनिबार जारी विज्ञप्तिमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । बारले शुक्रबारसम्ममा राणालाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न आह्वान गरेको थियो ।
थप आन्दोलनका कार्यक्रम अनुसार आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने बारको निर्णय छ । त्यस्तै सोमबार १० देखि १२ बजेसम्म देशभरका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोध सभा गर्दै आएकोमा निरन्तरता दिने, केन्द्रमा संसदमा रहेका सबै राजनीतिक दलका संसदीय दलमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको हो ।
बारले मंगलबारको आन्दोलनका क्रममा हतम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रत्युत्तर, पुनरेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने नगराइने जनाएको छ ।
बुधबार नेपालका १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा बृहत् विरोध सभा आयोजना गर्ने निर्णय गरेको बारले कार्यक्रमहरुमा नेपाल बारका केन्द्रीय प्रतिनिधिहरुालई पर्यवेक्षकका रूपमा खटाउने जनाएको छ । बुधबारका दिन उच्च अदालत र उच्च अदालतका इजलासहरुमा बहस, पैरवी नगर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
बारले बिहीबार र शुक्रबार भने काठमाडौं उपत्यकाका सबै बार इकाइका सदस्यहरुको सहभागितामा सर्वोच्च अदालत केन्द्रित विरोध कार्यकर्म गर्ने जनाएको छ ।
जारी आन्दोलनलाई कारण देखाउँदै बारले आगामी मंसिर २४, २५ र २६ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
न्यायपालिकाभित्रको विकृति, विसंगति, विचौलिया र भ्रष्ट्राचार नियन्त्रण गरि न्यायपालिकाको समग्र सुधार र सुद्दिकरणका लागि भन्दै बारले गत कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै विभिन्न आन्दोलन गर्दै आएको छ ।
शान्तिपूर्ण आन्दोलन दबाउन सर्वोच्च अदालतभित्र दङ्गा प्रहरी प्रवेश गराई आफूहरुमाथि अत्यधिक बल प्रयोग गरिएको भन्दै बारले त्यस्तो कार्यको निन्दा गरेको छ । विज्ञप्तिमा भनिएको छ –’कानून व्यवसायीहरु मथि बर्बर आक्रमण गर्ने कार्यको घोर निन्दा, भत्र्सना गर्दै घाइते साथीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’