adv

समूहगत सुझाव समेट्ने शर्तमा प्रचण्डको प्रतिवेदन पारित

कार्कीको दस्तावेजलाई पूरको मान्यता, लेखनाथको फरक मत यथावत

काठमाडौं, १६ पुष ।

शुक्रबार महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवदेन पारित भएपछि खुशी व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनको पाँचौ दिनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेज पारित गरेको छ ।

शुक्रबारको बन्दसत्रमा अध्यक्ष दाहालले महाधिवेशनमा प्रस्तुत गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजलाई सहभागी प्रतिनिधिहरुले पारित गरेका हुन् ।

प्रतिवेदनमाथि २४ वटै समूहबाट प्राप्त सुझाव र स्थायी कमिटी सदस्य राम कार्कीको पूरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने प्रतिवद्धतापछि दाहालको प्रतिवेदन पारित भएको हो ।

अध्यक्ष दाहालले दस्तावेज बारे उठेका प्रश्नहरुको जवाफ दिने क्रममा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेको भिन्न मतलाई भिन्न मतकै रुपमा स्वीकारेको जानकारी दिएका छन् ।

आफ्नो दस्तावेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान बहसको थालनी गरेको दाहालको जिकिर थियो ।

उनले तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव समेत गरेका छन् ।
पाँचौ दिनको बन्दसत्रको कार्यक्रम अपरान्ह १ बजेदेखि ५ बजेसम्म चलेको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले प्रेस नोटमार्फत जानकारी दिएको हो ।
शुक्रबारको बन्दसत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

जारी बन्दसत्र भोलि शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको समितिले जनाएको छ ।

शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु