- चिरन शर्मा
बेकसुर बाँधिएको अभियुक्त जस्तो
हजारौं जराहरु गाडेर माटोमा
ठिङ्ग उभिएको छ भ्यू टावर ।
भ्यू भन्दा असभ्य भ्यू टावर
जनताको गाँस काटेर ठडिएको
ठालुहरुको गाथा बोकेर अग्लिएको
बलत्कारीको लिंग भन्दा कुररूप
बुद्धिविलासहरुको बुद्धि भन्दा भद्दा
सल्लाहकारहरुको सल्लाह भन्दा घृणित
समस्याहरुको खोपिल्टा पुर्न नसक्ने
खोक्रो, बेकामे, भ्रष्टकृत तिम्रो भव्य भ्यू टावरको कथा
म बुझ्न सक्दिन
देश झुक्ने गरी उठेको सुन्दर कुररूप भ्यू टावर ! आखिर किन ?
तिम्रो भ्यू टावरको नाकै मुनि
एकाबिहानै उपचार नपाई छटपटीमा सुत्केरी बितेको
भोको पेटमा भोक खाएर फिंज काड्दै बालकले प्राण त्यागेको
बलत्कृत बालिकाहरु आलो रगतमा डुबुल्किदै चिच्याइ रहेको
अभाव र बेरोजगारीको पीडामा नवजवान शेरिएको
सायद तिम्रो भ्यू टावरबाट देखिन्न होला ।
तिमीलाई आदर्श ठान्ने जिउँदा लास त अहिले पनि जलिरहेका होलान् ।
किनकि जिउँदा लासहरु मर्ने र ब्युँतने क्रम चलिरहन्छ ।
घाटहरूको माहोल कस्तो होला ?
कति सुनसान होलान् ?
कति शान्त होलान् ? त्यो शान्तिमा कति चीत्कार गुन्जिरहेका होलान् ?
म बुझ्न सक्दिन
देश झुक्ने गरी उठेको सुन्दर कुररूप भ्यू टावर ! आखिर किन ?
हुनत तिमीले तिमी आफै हुनुको उद्देश्य बुझेका छैनौ ।
अग्ला अग्ला टावरहरु बनाउन तम्सिने
तर
एउटा झुपडी धान्न सक्ने जग हाल्न कहिल्यै नसक्ने
तिम्रो दुष्ट चरित्र तिमी निर्मित पक्कै होइन ।
किनकि तिमी स्वयम् कसैको गोटी हौ ।
रित्तो गिलास झैं ठिंग उभिएको भ्यू टावर हौ ।
जहाँबाट गलगाँड नै गलगाँड देखिन्छ ।
मात्र गलगाँड नै
गलगाँड ।