स्वतन्त्रसहित १३ जना उम्मेद्वारले गरे उम्मेद्वारी फिर्ता
१६ बैशाख, दमक ।

झापाको दमकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेल धरापमा परेको छ ।
शुक्रबार सत्ता गठबन्धनमा रहेको पाँच दलका शीर्ष नेताहरुको बैठकले गरेको निर्णय अनुसार पाँच दलीय गठबन्धन बाहेकका दलसँग गरिएको चुनावी तालमेल वा गठबन्धन खारेज गर्न निर्देशन दिइएको छ ।
सत्ता गठबन्धनले गरेको यो निर्णय कार्यान्वयन हुने हो भने दमकमा तीन दलीय तालमेलबाट दमक नगरको प्रमुख पदमा उम्मेद्वारी दिएका राप्रपाका राम थापाको उम्मेद्वारी खारेज हुन सक्ने जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश नम्बर १ का सदस्य सुशीलकुमार राईले दावी गरेका छन् ।
उनले भने –‘गठबन्धनको निर्णय स्वागतयोग्य छ । यसलाई अक्षरस कार्यान्वय गरिनु पर्दछ । त्यसो हुँदा दमकमा पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेद्वार पवन विष्ट नै हो ।’
विष्ट जसपाका आधिकारिक उम्मेद्वार हुन् । जसपाले प्रमुखमा विष्टसहित वडा नम्बर २, ७ र ९ मा खुला सदस्यका उम्मेद्वार छन् । गठबन्धनको केन्द्रीय निर्णय लागू हुने हो भने विष्ट आधिकारिक उम्मेद्वार बन्न सक्ने छन् । तर, यस्तो राजनीतिक परिस्थिति निर्माण भइनसकेको बताइन्छ ।
राईले आफ्नो फेसबुक वालमा अब आफ्नो पार्टी जसपाका प्रमुख पदका उम्मेद्वार पवन विष्ट र नेपाली कांग्रेसकी उप–प्रमुख पदकी उम्मेद्वार रेगिना भट्टराई प्रसाईंसहितको टीम जिताउन लाग्नुपर्ने उल्लेख गरेका छन् ।

यद्यपि शुक्रबार मनोनयन फिर्ता लिने साँझ ५ बजेको समयसीमा रहे पनि साना दलबाट उम्मेद्वारी दिएका विभिन्न पदका १३ जनाले मात्रै मनोनयन फिर्ता लिएका छन् ।
प्रमुख पदबाट उम्मेदवारी फिर्ता लिनेमा राष्ट्रिय जनमुक्ति पार्टीका धनराज राई, उप–प्रमुख पदबाट जनमुक्तिकै धनमाया मगर थापा, स्वतन्त्रतर्फबाट वडा अध्यक्षतर्फ वडा नम्बर १ का किशोरकुमार कार्की, वडा नम्बर ९ का दाताराम सुवेदी र सोमराज तामाङ, वडा नम्बर ४ का खलबहादुर लिम्बू, वडा नम्बर ५ का सूर्यप्रसाद नेपाल, वडा नम्बर ८ का कुलप्रसाद पुरी, वडा नम्बर २ का प्रकाश बस्नेतले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
त्यस्तै जनता समाजवादी नेपालबाट वडा नम्बर १ महिला सदस्य ओममाया आङ्देम्बे र वडा नम्बर ७ की हिमाकुमारी राई, नेकपा माओवादीबाट वडा नम्बर ७ का खुला सदस्य उम्मेद्वार सुन्दर देवान र नेकपा (एकीकृत समाजवादी) बाट वडा नम्बर ८ का खुला सदस्य उम्मेद्वार कमल कट्वालले उम्मेद्वारी फिर्ता लिएका छन् ।
शुक्रबार बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि जारी गरिएको निर्देशनको बुँदा नम्बर ३ मा भनिएको छ –‘पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बैठकपछि विज्ञप्ति जारी गरेका हुन् ।
पाँच दलीय गठबन्धनको विज्ञप्तिपछि जसपा नेपाल प्रदेश नम्बर १ का अध्यक्ष प्रवीण चाम्लिङले केन्द्रीय निर्देशनअनुसार पार्टीको तल्लो तहहरुमा परिपत्र गरिएको बताएका छन् ।
पाँच दलीय गठबन्धनको शुक्रबारको निर्णयले दमकमा नयाँ राजनीतिक तरंक पैदा गरेको खबर छ ।

