कत्तिक ८, काठमाडौं । भुटानले माल्दिभ्समाथि गोलको गोलको वर्षा गर्दै साफ च्याम्पियनसिप २०२४ को समूह ‘बी‘को शीर्ष स्थानमा उक्लिएको छ । यस सँगै भुटान समूहको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको समूह चरणको अन्तिम खेलमा भुटान १३–० ले विजयी भएको हो ।
पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अंक जोडेको छ । भुटानले श्रीलंकालाई४–१ ले हराएको थियो । अन्तिम खेल खेल्न बाँकी रहेको नेपालको चार अंक छ ।
नेपालले बिहीबार नै साँझ ५:३० बजे श्रीलंकासँग खेल्ने छ । नेपालले माल्दिभ्स विरुद्ध ११ गोल गरेको थियो। अब नेपाललाई समूहको शीर्ष स्थानमा उक्लिन कम्तिमा पाँच गोल गर्नुपर्नेछ । यो सम्भव भएमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने छ । नभए अघिल्लो संस्करणका दुई फाइनलिस्ट नेपाल र बंगलादेश सेमिफाइनलमै भिड्ने छ ।