कत्तिक ८, काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले श्रीलंकालाई फराकिलो गोलअन्तरले हराएको छ ।
बिहीवार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६–० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो ।
यो खेल अघि बिहीवार नै भएको अर्को खेलमा भुटानले माल्दिभ्सलाई हराउदै शीर्ष स्थानमा उक्लिएको थियो । नेपाल र भुटानको समान७–७ अंक भएपनि गोलअन्तरमा नेपाल १ गोलले अघि रहँदै समूह विजेता बनेको हो ।
नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीको नाममा१–१ गोलको योगदान रह्यो।
नेपालले पहिलो हाफमा ४ गोल गरेको थियो भने दोस्रो हाफको सुरुमा र इन्ज्युरी समयमा गरेर २ गोल थप्दै जित पक्का गरेको थियो ।
अब आइतवार हुने सेमिफाइनलमा पहिलो खेल दिउँसो १:३० बजे बंगलादेश र भुटानबीच हुनेछ भने साँझ ५:३० बजे नेपाल र भारत बिचफाइनल प्रवेशको लागि भिडन्त हुनेछ ।