मंसिर २७, इलाम । डिफेन्डिङ च्याम्पियन न्युरोड फुटबल क्लब(एनआरटि) दोस्रो एनआरएनए इलाम गोल्डकपको फाइनल पुगेको छ ।
इलाम सदरमुकाममा सुरु भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा झापाको रेडस्टार फुटबल क्लबलाई एकका विरुद्ध दुई गोल गर्दै उपाधि भिडन्त पक्का गरेको हो । मंसिर २९ गते एनआरटिले चर्च ब्वाइजसँग उपाधिका लागि फाइनल खेल खेल्नेछ ।
आइतबार इलाम सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा भएको खेलको ४५औं मिनेटमा पेनाल्टी पाएपछि न्युरोडका अञ्जन विष्टले गोल गर्दे अग्रता दिलाए । पहिलो हाफको खेलमा एक गोलले अगाडी रहेको न्युरोडले दोस्रो हाफको ७औं मिनेटमा विदेशी खेलाडी इमेन्युल बोटिङले गोल गर्दे खेललाई बराबरी बनाए । खेलको ६१औं मिनेटमा न्युरोडका विवेक गुरुङले गोल गर्दे आफ्नो टिमलाई अग्रता दिलाए। त्यसपछि पछि दुवै टिमबाट कुनै पनि गोल हुन नसक्दा खेल २–१ को अन्तरमा सकियो ।
खेलको म्यान अफ द म्याच एनआरटिका अञ्जन विष्ट घोषित भए । उनले नगद आठ हजार एक सय सहित ट्रफि पाए ।
इलामको गौरवको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजक सहित काठमाडौंका ए डिभिजन क्लबहरु त्रिभुवन आर्मी क्लब, सङ्कटा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चर्ज ब्वाइज युनाइटेट, मछिन्द्र फुटबल क्लबसाथै झापाको रेडस्टार क्लब र पाहुना टोलीको रुपमा भारतको जीटीए–११ दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको छ ।
मंसिर २९ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद १० लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद रु पाँच लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचले नगद २५ हजार सहित ट्रफि प्राप्त गर्ने छन् ।



