मंसिर २७, दमक । झापाको कमल–५ मा रहेको आदिवासी रंगशालामा मंसिर ३० गते चासोक तङ्नाम कार्यक्रम हुने भएको छ ।
किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाउँ समितिले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको चासोक तङ्नाम (उधौली) यो साल पनि मनाउने भएको हो ।
आयोजकले दमकमा पत्रकार सम्मेलन गरी कार्यक्रमलाई भव्य र सभ्य बनाउन तीव्र तयारी भइरहेको जानकारी दिए ।
बृहत् कार्यक्रमका बीच हुने चासोक तङ्नामलाई यस पटक दुई लाख देखि तीन लाख भित्रको खर्चमा सक्ने आयोजकको योजना रहेकोछ ।
चुम्लुङ दमकका अध्यक्ष देबेन्द्र चेम्जोङले बिहानको सत्रमा फेदाङ्बा विधि र किरात धर्म अनुसार सेवा गरेर न्वागी पूजा सम्पन्न गरिने छ भने बिहानको ११:३० बजेपछि दिवा सत्रमा औपचारिक कार्यक्रम गरिने जानकारी दिए । त्यस्तै, दिउँसो ३:३० बजेपछिको समयमा बृहत् सांगितिक कार्यक्रम हुने चेम्जोङको भनाइ छ । उनका अनुसार पालाम गाएर र धान नाचेर सांगितिक कार्यक्रमको स्वागत गरिने छ ।
कार्यक्रममा कियाचु संघीय सदस्य नरेनहाङ लिम्बू, प्रदेश सचिव साङ्सेन पन्धाक, प्रदेश सदस्य दिल कुमार लावती, झापा अध्यक्ष सेसेहाङ लिम्बू , कमल अध्यक्ष दिवस लिम्बू लगायतको उपस्थिति रहेको थियो ।