मंसिर २९, इलाम । डिफेन्डिङ च्याम्पियन न्युरोड फुटबल क्लब(एनआरटि) दोस्रो एनआरएनए इलाम गोल्डकपको च्याम्पियन बनेको छ।
इलाम सदरमुकाममा सम्पन्न भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले हराउदै उपाधि हात पारेको हो ।
शनिबार इलाम सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा भएको खेलको २५औं मिनेटमा जय गुरुङको कर्नर किकलाई नेमारले गोल गर्दै एनआरटिलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको एनआरटिले खेलको ५२औं मिनेटमा अञ्जन विष्टको पेनाल्टि गोलमार्फत अग्रता दोब्बर बनायो । उपाधितर्फ अगाडी बढिरहेको एनआरटिले ६४औं मिनेटमा जय गुरुङको पासलाई अञ्जन विष्टले गोल गर्दै जित पक्का गरे ।
पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोल गर्दै चर्ज ब्वाइज फाइनल प्रवेश गरेको थियोभने दोस्रो सेमिफाइनल खेलमा झापाको रेडस्टार फुटबल क्लबलाई एकका विरुद्ध दुई गोल गर्दै एनआरटिले उपाधि भिडन्त पक्का गरेको थियो ।
खेलको म्यान अफ द म्याच एनआरटिका शिशिर लेखि घोषित भए । उनले नगद आठ हजार एक सय सहित ट्रफि हात पारे ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोल किपर एनआरटिका विशाल सुनुवार घोषित भए । त्यस्तै उत्कृष्ट डिफेन्डर एनआरटिका आशिष गुरुङ घोषित हुँदा रोहन कार्कीले उत्कृष्ट मिड फिल्डरको उपाधि पाए । उदीयमान खेलाडी रेड हर्ष फुटबल क्लबका अर्जुन गुरुङ भए भनेसर्वाधिक गोल कर्ता र म्यान अफ द टुर्नामेन्टको उपाधि एनआरटिका अञ्जन विष्टले हात पारे । त्यस्तै उत्कृष्ट प्रशिक्षक एनआरटिका जीवन सिन्केमान भए ।
यसैगरी यसै वर्षबाट स्थापना भएको खेल पत्रकारिता पुरस्कारबाट इलामका पत्रकार गणेश घिमिरे सम्मानित भए ।
इलामको गौरवको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजक सहित काठमाडौंका ए डिभिजन क्लबहरु त्रिभुवन आर्मी क्लब, सङ्कटा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चर्ज ब्वाइज युनाइटेट, मछिन्द्र फुटबल क्लबसाथै झापाको रेडस्टार क्लब र पाहुना टोलीको रुपमा भारतको जीटीए–११ दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको थियो ।
मंसिर २२ बाट सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन भएको थियो ।
प्रतियोगिताको विजेताले नगद १० लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे भने उपविजेताले नगद रु पाँच लाख सहित ट्रफि, मेडलर प्रमाणपत्रमा चित्त बुझाए ।