पुष ४, इलाम । संगीत र शिक्षण पेशालाई सँगसँगै अगाडी बढाइरहेका माङसेबुङ इलामका शंकर योङहाङको ‘तिम्रै पीरले‘ म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ ।
माङसेबुङ–२ चुक्चीनाम्बाका शंकर पेशाले विज्ञान शिक्षक हुन् । स्टेज कार्यक्रम हुँदै नेपालको विभिन्न गायन प्रतियोगिताहरुमा सहभागी जनाइ सकेका सुरिलो स्वरका धनी उनी कहिलेकाहीँ शब्द कोर्नुका साथै संगीत भर्ने पनि गर्छन् । अहिले उनको शब्द र संगीत रहेको तिम्रै पीरले म्यूजिक भिडियो सार्वजनिक हुने तयारीमा रहेको छ ।
हरप्रहर न्यूज डट कमसँग कुरा गर्दै उनी भन्छन्– ‘खासमा म परदेश गएको छैन तर परदेशीको पिडालाई मनन गरेर शब्दमा उतार्ने प्रयास गरेको छु । आफ्नो प्यारो मान्छेसँग छुट्टिएर अर्काको देशमा दुख गर्नु पर्दाको अवस्थालाई गीत मार्फत प्रस्तुत गरेको हो । यस्मा संगीत पनि मैले नै भरेको छु ।‘
नेपाली युवाहरूको विदेशीने बाध्यता र त्यही बाध्यताले उत्पन्न परिस्थितिलाई मुख्य कथा वस्तु बनाइएको भिडियोको सबै भाग कोरियाको छुङ्जुमा छायांकन गरिएको छ ।
भ्वाइस अफ नेपाल र नेपाल आइडलका प्रतियोगी अहिलेका उदाउदो गायक सनम परियारको स्वर रहेको म्यूजिक भिडियोमा सोनीप विक्रम शाही, प्रभा गुरुङ र सुरेन्द्र श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
अटोमि नेपालका दिपेन्द्र कँडेलको उत्पादन, सोनम पराजुलीको कथा,निर्देशन र छायाङ्कन, युजिना स्टुडियोको इडिट, सुजन कोइरालाको कलर रहेको म्यूजिक भिडियो यही पुष ६ गते शनिबार कोरियन समय अनुसार बेलुकी ८:४५ मा सार्वजनिक हुदैछ ।
मेलिना राईसँग चार वर्ष अगाडी युगल गित दुनियालाई दुर राखौला गाएर चर्चामा आएका शंकरलाई टोलाए म टोलाए गीतले स्थापित बनाइ दियो ।
एक समयमा निक्कै चलेको यो गीत अझै पनि धेरैको जनजिब्रोमा झुन्डिएको छ ।