गोविन ल्वागुन, शिवसताक्षी । झापाको शिवसताक्षी ३ पाराबारी स्थित भानु माध्यमिक विधालयको २ कोठे भवनको शिलान्यास गरिएको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि शिवसताक्षी ३ का वडा अध्यक्ष भास्कर न्यौपाने र नेपाली काँग्रेसका महासमिति सदस्य तथा समाजसेवी मचिन्द्र शेर्माले संयुक्त रुपमा भवनको शिलान्यास गरेका थिए ।
तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बाट २५ लाख रुपैयाँ र शिवसताक्षी नगरपालिकाको १५ लाख ९६ हजार ९ सय ७६ रुपैयाँ गरि जम्मा ४० लाख ९६ हजार ९ सय ७६ हजार रुपैयाँको लागत साझेदारीमा भवन निर्माण हुने भएको विधालय व्यवस्थापन समितिका अध्यक्ष गणेश राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार शिववसताक्षी ९ मा रहेको एसआरएस निर्माण सेवाले भवन निर्माणको ठेक्का पाएको र ०८२ असार १५ सम्ममा निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भएको छ ।
भवन निर्माणको लागि २५ लाख रुपैयाँ काँग्रेस महासमिति सदस्य मचिन्द्र शेर्माको पहलमा प्राप्त भएको विधालयका प्रधानाध्यापक विजय चौधरी बताउछन् । उनले सोही विधालयका पूर्व विधार्थी समेत रहेका शेर्माले यस अघि पनि विभिन्न चरणमा विधालयको शैक्षिक उन्नतिका निम्ति विभिन्न प्रकारका सहयोग गर्दै आइरहेका समेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शेर्माले आफू विद्यार्थी समेत रहेकोले विधालयको चौतर्फी विकासको लागि सदैव सहयोग गर्ने भन्दै नवनिर्मित भवनको गुणस्तरमा कुनै सम्झौता नगर्न सबै सरोकारवालाहरुलाई आग्रह गरे ।
कार्यक्रममा पिटिए अध्यक्ष रोहित बास्तोला, वडाका जनप्रतिनिधिहरु लासाङ तामाङ, शंकर राई, तिर्थकुमारी महरा, मिना तामाङ लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
वि.स २०३४ सालमा स्थापना भएको यस विधालयमा हाल कक्षा १० सम्म अध्यापन भइरहेको छ । विधालयमा अहिले ३ सय ६८ जना विधार्थी रहेको शिक्षक गणेश चौलागाईंले जानकारी दिए ।
कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन पाठन भइ रहेको यस विधालयको आगामी शैक्षिकसत्र देखि थप गर्दै लाने योजना रहेको छ ।



