माङसेबङ । इलामको माङसेबुङमा सात दिने उद्घोषण तथा पत्रकारिता तालिम सम्पन्न भएको छ ।
माङसेबुङ ५ मा अवस्थित किरात साम्जिक मुन्धुम निसामहिमको सभाहलमा गत असार १ गतेबाट सुरु भएको तालिम शनिबार सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा विशेष अतिथि माङसेबुङ ५ का वडा अध्यक्ष नरेन्द्र कुमार राई, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङ, प्रशिक्षक कमन देवान लगायतले शुभकामना दिएका थिए ।
यसैगरी सहभागी प्रशिक्षार्थीहरुको तर्फबाट सरिता तामाङ र पिमुखसाम इवाहाङले अनुभव सेयर गरेका थिए ।
कार्यक्रममा किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुभोका उपाध्यक्ष वौद्धमान केरुङ, किरात साम्जिक मुन्धुम निसामहिम व्यवस्थापन समितिका अध्यक्ष देउकुमार आङदेम्बे लगायतको उपस्थिति रहेको थियो ।
तालिममा उद्घोषण तर्फ प्रशिक्षक देशराज नेम्बाङ र सह–प्रशिक्षक सजन राइले सहजिकरण गरेका थिए । यस्तै पत्रकारिता तर्फ भने प्रशिक्षकद्वय कमन देवान र राम योङहाङले सहजिकरण गरेका थिए । तालिममा विक्रम फागो वनेम र सुमन लावतीले समेत सहजिकरण गरेका थिए ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग तथा माङसेबुङ पब्लिकेशन एण्ड मिडिया प्रालि र किरात इङ्भो पान्जुम्भोको आयोजना रहेको तालिममा पालिका भरिका २५ जनाको सहभागिता रहेको थियो ।
किरात इङ्भो पान्जुम्भोको अध्यक्ष केहेरसिंह योङहाङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन माङसेबुङ मासिक तथा माङसेबुङ न्यूज डटकमका सह–सम्पादक आन्छुमे नसान र स्वागत मन्तव्य माङसेबुङ मासिकका कार्यकारी सम्पादक तथा किरात इङ्भो पान्जुम्भोका सचिव ज्ञानु केदेमले गरेका थिए ।