चैत २३, फाकफोकथुम । प्रथम राम नवमी कप नक आउट फुटबल प्रतियोगिता २०८१ को भेट्रान तर्फ दमक नगरपालिका झापा विजयी भएको छ ।
शनिबार फाकफोकथुम ५ नवमी बजार स्थित पोखरी खेल मैदानमा भएको खेलमा मिक्लाजुङ गाउँपालिकालाई १–० गोल अन्तर लेहराउदै दमक च्याम्पियन भएको हो ।
दमकको लागि दोस्रो हाफको ७औं मिनेटमा दिपेन गिरीले गोल गरे । उनको गोलमा कप्तान तुला मगरले पास मिलाएका थिए ।
प्रतियोगिताको विजेताले नगद २० हजार सहित ट्रफि पाए भने उपविजेताले नगद १० हजार सहित ट्रफि प्राप्त गरेका थिए ।
विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि जिसस इलाम जिल्ला प्रमुख जय प्रकाश राई सहित फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई, माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ सहित आयोजक समितिका अध्यक्ष प्रविण राई लगायतले पुरस्कार वितरण गरेका थिए ।