गोविन ल्वागुन, झिलझिले । शिवसताक्षी मेयर कप २०८१ को क्रिकेट तर्फको उपाधि वडा एघारले जितेको छ । बुधबार भएको फाइनल खेलमा वडा नौलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ रोजेको वडा ९ ले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा १३९ रन बनाएर अल आउट भएको थियो । १४० रनको लक्ष्यका साथ जवाफी ब्यटिङमा उत्रिएको ११ ले १४.३ ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाउदै निर्धारित लक्ष्य भेट्टाउदै विजेता बनेको थियो ।
फाइनल खेलको म्यान अफ दि म्याच विजेता टिमका दिपेश मगर भए । उनले ३१ बलमा २४ रन बनाएर २ विकेट लिएका थिए ।
विजेताले नगद ३५ हजार रुपैयाँ र उपविजेताले २५ हजार नगद सहित ट्रफी र प्रमाण पत्र पाउनेछन् । व्यक्तिगत विधातर्फ प्लेयर अफ दी सिरिज छ हजार, राइजिङ प्लेयर चार हजार, साथै हाइएस रन, बेष्ट विकेट किपर, बेष्ट फिल्डिङ, बेष्ट बलर, बेष्ट ब्याट्स म्यान तीनहजार ५ सय रहेको छ ।
चैत २१ गतेबाट सुरु भएको प्रतियोगिताको अन्य विधाका फाइनल चैत २८ गते बिहीबार हुनेछ । क्रिकेटका विजेताहरुलाई समेतबिहीबार पुरस्कार वितरण गरिने नगर खेलकुद विकस समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको समापन समारोहमा प्रतिनिधि सभा सदस्य एलपि सावाँ लिम्बु प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।