शिवसताक्षी । झापाको शिवसताक्षीमा सम्पन्न मेयर कप २०८१ को फुटबल तर्फको उपाधि वडा दशले जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा वडा सातलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा गरेको हो । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेल टाइब्रेकर तर्फ धकेलिएको थियो ।
खेलको म्यान अफ द म्याच विजेता टिमका गोल किपर सुदिप मर्डी घोषित भए । उनले नगद दुई हजार १ सय हात पारे ।
व्यक्तिगत विधातर्फ प्लेयर अफ दि टुर्नामेन्ट वडा ७ का हेमन लिम्बु हुँदै नगद ११ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलकिपर वडा १० का सुदिप मर्डी, उत्कृष्ट डिफेन्डर वडा ७ का रोजिन कार्की, उत्कृष्ट मिडफिल्डर वडा १० का सिमोन राई, उत्कृष्ट फरवार्ड वडा १० का मुक्साहाङ लिम्बु भए । उनीहरुले जनही ५ हजार ५ सय रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरे । हाई स्कोररको अवार्ड भने वडा ८ का सोहन थापा र वडा ११ का देब मल्लिकले संयुक्त प्राप्त गरे । उनिहरुले एकमुष्ट ७ हजार ५ सय रुपैयाँ पाए । उदीयमान खेलाडी वडा ८ का सोहन थापा भए । उनले नगद ६ हजार ५ सय रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार रुपैयाँ र उपविजेताले नगद ४१ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
वुधबार नै सकिएको क्रिकेट तर्फ प्लेयर अफ दि सिरिज वडा ७ का विजय घिमिरे घोषित हुँदै नगद ६ हजार सहित ट्रफि पाए । राइजिङ प्लेयरको उपाधि वडा ११ का विशेष उप्रेतीले हात पार्दै नगद ४ हजार सहित ट्रफि प्राप्त गर्यो । प्रतियोगिता भरीको हाई रन सुरज योङ्हाङले बनाउदा वेष्ट विकेट किपर वडा ११ का सनम मगर, वेष्ट फिल्डिङ वडा ११ का नरविर फागो, वेष्ट बलर वडा ९ का विराज तामाङ, वेष्ट ब्याट्सम्यान वडा ११ पुर्ण लिम्बू चुनिए । उनिहरुले नगद ३ हजार ५ सय सहित ट्रफी हात पारे ।
विजेता खेलाडीहरुलाई प्रमुख अतिथि शिवसताक्षी नगर प्रमुख मेगाहाङ थोप्रा सहित नगर खेलकुद समितिका अध्यक्ष सुरज रिङ्गालुङराई लगायतले पुरस्कार वितरण गरेका थिए ।
शिवसताक्षी नगर खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगिता चैत २१ गतेबाट सुरु भएर चैत २८ समापन भएको थियो ।प्रतियोगितामा ६ विधाका खेलहरु समावेश भएको थियो ।


