काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरूको आन्दोलन फिर्ता भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रघुजी पन्तले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
आन्दोलनका सबै कार्यक्रम स्थगित भएपछि भोलिबाट विद्यार्थी भर्ना सुरु हुने मन्त्री पन्तले जानकारी दिए ।
शिक्षक महासंघले हिजो भएको वार्ताका क्रममा ९ बुँदे प्रस्ताव प्रस्तुत गरेको थियो । सरकार राहत, अस्थायी, करार, सिकाइ अनुदान लगायतका अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा बापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ट प्रदान गर्न सहमत भएको छ ।यस्तै, प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा सरकारबाट तोकिए बमोजिमको व्यवस्था गर्नेर स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने सहमति पनि भएको छ ।
नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरुलाई समावेश गर्ने, निमावि तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितिय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने र शिक्षक–कर्मचारीलाई निजामति अस्पतालमा सहुलियत उपचारको व्यवस्था गर्ने सहमति पनि वार्तामा भएको छ ।
सरकारले शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गराउने जनाएको छ ।