दमक । प्रथम दमक नगर खेलकुद महोत्सवमा फुटबलतर्फ दमक ३ च्याम्पियन बनेको छ ।
मंगलबार दमक ३ स्थित प्रस्तावित मदन भण्डारी खेल मैदानमा सम्पन्न फाइनल खेलमा वडा ३ ले वडा ५ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
वडा ३ का लागि जीवन घिमिरेले ६२औं मिनेटमा गरेको एक मात्र गोल उपाधि जित्न पर्याप्त बन्यो ।
प्रतियोगिताको विजेताले नगद ८० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गर्यो भने उपविजेताले नगद ४० हजार रुपैयाँ सहित ट्रफि पायो । प्रतियोगितामा तेस्रो हुने वडा १० ले नगद २५ हजार रुपैयाँ हात पार्यो ।
फाइनल खेलको म्यान अफ द म्याच वडा ३ का जीवन घिमिरे घोषित भए । प्रतियोगिता वडा ३ बाट वेष्ट गोलरक्षक निशान तामाङ, प्लेयर अफ द सिरिज प्रीतम कार्की, हाइ स्कोरर सुरेन घिमिरे र वेष्ट कोच निमा तामाङ हुँदा वडा ५ का क्षिजिज लिम्बू वेष्ट मिडफिल्डर र उज्वल थेगिम वेष्ट डिफेन्डर घोषित भए ।



