गोविन ल्वागुन, शिवसताक्षी । झापाको शिवसताक्षीमा चौथो पाराबारी आमन्त्रित अन्तरपालिका भलिबल प्रयियोगिता २०८२ हुने भएको छ ।
पाराबारी बजार व्यवस्थापन समिति र वडा नम्बर ३ खेलकुद समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता यहि जेष्ठ २१, २२ र २३ गते सञ्चालन हुनेछ ।
शिवसताक्षी ३ स्थित पारबारी बजारको खेल मैदानमा हुने प्रतियोगितामा झापाको ९ र मोरङगका ३ पालिकाको टिम सहभागी हुने खेल संयोजक लासाङ्ग दोर्जे तामाङ्गले पत्रकार सम्मेलनमा जानकारी दिए । जस अनुसार आयोजक शिवसताक्षी नगरपालिका, कन्काईनगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कमल गाउँपालिका रहेका छन । त्यस्तै मोरङको बेलबारी नगरपालिका, लेटाङ नगरपालिका र उर्लाबारी नगरपालिकाको सहभागिता रहने भएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउने छ ।
पत्रकार सम्मेलनमा बोल्दै पाराबारी बजार व्यवथापन समितिका अध्यक्ष मेगराज ओझाले भलिबल खेलको सर्वाङ्गीण विकास गर्दै खेलाडीहरुको खेल कौशलको पहिचान र प्रवर्द्धनसँगै खेलकुदको माध्यमबाट युवालाई लागुऔषध दुर्व्यसनीमा फस्न नदिनको लागि पनि खेलकुदको ठुलो भुमिका हुने भएकोले पनि प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिता सञ्चालनमा अनुमानित ३ लाख ३० हजार खर्च हुने बताइएको छ । आर्थिक सहयोग शिवसताक्षी नगरपालिका ३ वडाकार्यलय, व्यवसायीहरु, विभिन्न संघ संस्थाहरु लगायत देश तथा विदेशबाट आएको आयोजक समितिले जानकारी दिए ।
सम्मेलनमा शिवसताक्षी ३ का वडाध्यक्ष भाष्कर न्यौपानेले भलिबल प्रतियोगितालाई सफल बनाउन सबै एक जुट भएर लाग्नु पर्ने धारणा रखेका थिए । उनले यस अघि प्रदेश स्तरिय भलिबल प्रतियोगिता हुदै आएको भए पनि कोरोना कहरका कारण खेलले निरन्तरता पाउन नसकेको बताए । वडाको पहिचान र गहनाको रुपमा रहेको भलिबल खेललाई निरन्तरता दिन वडाको तर्फबाट आवश्यक सहयोग रहने समेत बताए ।
पत्रकार सम्मेलनमा भलिबल प्रतियोगिताका सल्लाहकार संयोजक चुडामणी बुडाथोकी, कार्यपालिका सदस्य मुनाकुमारी तामाङ, वडासदस्य शंकर राई, प्रहरी चौकी मंगलबारेका इन्चार्ज गेहेन्द्र तिम्सिना लगायत पाराबारी बजार व्यवथापन समिति र वडा खेलकुद समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा भेट्रान भलिबल खेलाडी महेन्द्र सम्बाहाम्फेको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन आयोजक समितिका सचिव अर्जुन पोखरेलले गरेका थिए । प्रतियोगिताको प्रत्यक्ष प्रशारण खेलकुद टाइम्सबाट हुने आयोजकले जानकारी दिएको छ ।