माङसेबुङ । इलामको माङसेबुङ–६ मा सम्पन्न टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधि बाँझो ६ र बाँझो ५ ले जितेको छ ।माङसेबुङ ६ भित्रका साबिक वडाहरुबिच गरिएको प्रतियोगिताको पुरुष फुटबल तर्फको उपाधि बाँझो ६ ले जितेको छ । त्यसैगरी ३० वर्ष माथिका महिलाहरुको लुङ्गी फुटबलको उपाधि भने बाँझो ५ ले हात पारेको छ ।
माङसेबुङ ६ स्थित हस्टेमा रहेको पारुहाङ खेल मैदानमा सञ्चालित प्रतियोगिताको आइतबार भएको पुरुष तर्फको फाइनल खेलमा बाँझो ६ ले बाँझो १ लाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । खेलको पहिलो हाफमा बाँझो ६ ले मन कुमार राईको २ गोल र सन्दिप राईको १ गोलसँगै ३ गोल गरेको थियो । बाँझो १ को तर्फबाट मदन राईले गोल गर्दा पहिलो हाफ ३–१ को अन्तरमा सकिएको थियो ।
दोस्रो हाफमा आक्रमक खेल खेलेको बाँझो १ ले मदन राईको व्यक्तिगत दोस्रो गोलबाट अग्रता कम गरे पनि हार पन्छाउन भने सकेन ।
त्यसैगरी आइतबार नै भएको अर्को फाइनल खेल महिला लुङ्गी तर्फको रहेको थियो । लुङ्गी खेलमा बाँझो ५ ले बाँझो ६ लाई २–०गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । खेलको पहिलो हाफमा निर्मला राईको उत्कृष्ट फ्रिकिक गोल मार्फत अग्रता बनाएको बाँझो ६ ले दोस्रो हाफमा शोभा राईको गोलबाट अग्रता दोब्बर बनाउदै जित पक्का गरेको थियो ।
अन्य उपाधि तर्फ शनिबार सम्पन्न फाइनल खेलमा महिला फुटबल तर्फ बाँझो ३ ले बाँझो ६ लाई हराउदै उपाधि जितेको थियो भने पुरुष भेट्रान तर्फ बाँझो ५ लाई हराउदै बाँझो ६ विजयी भएको थियो ।
व्यक्तिगत विधातर्फ पुरुष खेलको उत्कृष्ट गोल किपर बाँझो ६ का भिषण राई चुनिदा उत्कृष्ट डिफेन्स बाँझो १ का अविस राई भए ।उत्कृष्ट खेलाडी बाँझो ६ का मन कुमार राई घोषित भए । त्यसैगरी महिला तर्फको बाँझो ३ बाट उत्कृष्ट गोल किपर अन्जना राई भए भनेउत्कृष्ट डिफेन्स साकोङ राई भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी बाँझो ६ की कमला राई भइन् ।
सम्पूर्ण विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथि माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा महिला तथा पुरुष फुटबल सहित भेट्रान्स फुटबल र ३० वर्ष माथिका महिलाहरुको लागि लुङ्गी फुटबल खेल सहित चार विधामा खेलहरु भएको थियो ।
माङसेबुङ ६ को सहयोग तथा माङसेबुङ ६ टोल स्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको महिला तथा पुरुष फुटबलको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद सहित ट्रफि प्राप्त गरेका छन् भने भेट्रान्सतर्फ विजेताको १० हजार र उपविजेताको ५ हजार नगद सहित उपाधि प्राप्त गरे । त्यसैगरी लुङगी तर्फको विजेता र उपविजेताको पुरस्कार क्रमशः ५ हजार र २ हजार ५ सय रुपैयाँ सहित ट्रफि रहेको थियो ।