दमक । दमक नमुना ब्याडमिन्टन एकेडेमीको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता २०८२ तथा दशैं तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
असोज १० र ११ गते दुई दिन एकेडेमीको हलमा सञ्चालित प्रतियोगिता दुई क्याटोगोरीमा सम्पन्न भएको थियो । ए र बि मिक्सफाइनल खेलमा कुशल बस्नेत र कविध्वज राईको जोडीले दिल कुमार आचार्य र रोशन कालिकोटेको जोडीलाई २१–१९ र २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । सेमिफाइनल खेलमा विजेता टिमले सुदेन राई र डम्बर तुम्रोकको जोडीलाई १४–२१, २१–१३ र २५–२३ को सेटमा जित्दै फाइनल प्रवेश गरेको थियो । यसैगरी उपविजेता टिमले पुष्पराज पाण्डे र सुवास राईको जोडीलाई २१–१२ र २१–११ को सोझो सेटमा हराएको थियो ।
ए र बि मिक्स विजेता
आजै सम्पन्न अर्को सि र डि मिक्सको फाइनल खेलमा मनु चाम्लिङ र दिपक मगरको जोडी च्याम्पियन बन्यो । उनीहरुले नरेश तामाङ र दिलु सुब्बाको जोडीलाई फाइनलमा २१–१२ र २१–१३ को सोझो सेटमा पाखा लगाएको थियो । सेमिफाइनलमा विजेताले रमेश राई र दिपक अधिकारीलाई २१–१४ र २१–७ को सेटमा हराएको थियो भने उपविजेताले निराजन श्रेष्ठ र ज्ञानु लिम्बूलाई २१–१९ र २१–१६ कोसेटमा हराउदै उपाधि भिडन्त पक्का गरेको थियो ।
‘समाज विकाससँगै खेलकुदमा व्यावसायिकता, स्वास्थ्यको लागि राष्ट्रको लागि खेलकुद आजको आवश्यकता‘ भन्ने मूल नाराका आयोजना गरिएको प्रतियोगिताको राइजिङ प्लेयरको उपाधि विगेन बस्नेत र आर्यन नेपालीले पाए ।
सि र डि मिक्स विजेता टिम
एकेडेमीका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा दशैं तिहारको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि दमक नगर प्रमुख राम थापा, अतिथि दमक ७ वडा अध्यक्ष भिम पौडेल, इलामको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास बिक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न खेलकुद समितिका पदाधिकारी तथा सदस्य, ब्याडमिन्टन संघका पदाधिकारी तथा सदस्यहरु सहितको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एकेडेमीका उपाध्यक्ष श्याम कार्कीले गरेका थिए भने सदस्य बन्दना लिम्बूले स्वागत गरेका थिए ।





